शुक्रबार, चैत १६, २०८०

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ : नृत्यनाटिका र अडिओ नाटक प्रस्तुत हुँदै

नेपालखोज २०७९ मंसिर १३ गते १३:१५

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मध्यतिर आइपुगेको छ । ९ दिनसम्म आयोजना हुने महोत्सव आज मंगलबार पाँचौ दिनमा आइपुगेको छ । पाँचौ दिन दुई नाटकको अलवा नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदैछ ।

निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा हुनेछ । ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ ।

दर्शक/श्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन् ।

त्यस्तै मंगलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदैछ । यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा भन्छ । जब दुईजना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरुको यात्राले मानवीयताका धेरै पत्रहरु खुलाउदै जान्छ ।

चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदैछ । केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरुसँगै आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरु याद गर्ने प्रयास गराउनेछ ।

पाँचौ दिनको अन्तिम प्रस्तुति स्वरुप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदैछ । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन् । यस प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्षहरूद पछ्याइएको छ ।

‘पाइतालाका यात्रा’मा मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया