शनिबार, जेठ ११, २०८२

भारतमा डिजिटल रुपैयाँ लन्च हुँदै

नेपालखोज २०७९ मंसिर १४ गते १२:२१

भारतमा डिजिटल रुपैयाँ लन्च हुँदै रिजर्व बैंक अफ इन्डिया (RBI) ले मङ्सिर १५ गते बिहिबार ( डिसेम्बर १ ) देखि खुद्रा डिजिटल रुपैयाँ प्रचलनमा ल्याउँदैछ । भारतको यो केन्द्रीय बैंकले १ नोमेम्बर २०२२ मा थोक लेनदेनका लागि डिजिटल रुपैयाँ थालेको थियो र अब बैंकले खुद्रा प्रयोगका लागि यो डिजिटल मुद्रा (CBDC) बजारमा उतार्न लागेको हो जसको प्रयोग आममानिसले गर्न सक्ने छन् ।

बिजनेस टुडेको रिपोर्ट अनुसार आरबीआईले रिटेल डिजिटल रुपैयाँको पायलट प्रोजेक्टका क्रममा यसको वितरण र प्रयोगको सम्पूर्ण प्रक्रियाको परीक्षण गरिने जनाएको छ। प्रारम्भिक रूपमा, यसको प्रयोग छानिएका केहि स्थानमा हुनेछ । कसरी प्रयोग गरिन्छ ? आरबीआईका अनुसार , CBDC (डिजिटल रुपैयाँ) भुक्तानीको माध्यम हुनेछ, जुन सबै नागरिक, व्यवसाय, सरकार र अन्यका लागि कानूनी रुपमा मान्य हुनेछ । यसको मूल्य सुरक्षित भण्डारमा राखिएको कानूनी नोट (अवस्थित मुद्रा) बराबर हुनेछ। ई-रुपीले डिजिटल टोकनलको जस्तै काम गर्नेछ। अर्को शब्दमा, CBDC RBI द्वारा जारी गरिएको यो मुद्रा , नोटहरूको डिजिटल रूप हो। यसलाई कागजको नोट सरह लेनदेनका लागि प्रयोग गर्न सकिन्छ।

आरबीआईका अनुसार ई-मुद्रा सहायक कम्पनीहरू अर्थात् बैंकहरूमार्फत वितरण गरिनेछ। यसका प्रयोगकर्ताहरूले यसलाई बैंकहरूले उपलब्ध गराएको एपमार्फत खरिद गरी आफ्नो मोबाइलमा सुरक्षित राख्न सक्नेछन् । यसलाइ व्यक्ति देखि व्यक्ति तथा व्यक्ति र व्यापारीबीचको कारोबारमा प्रयोग गर्न सकिन्छ । यसलाई क्युआर ( QR ) कोड स्क्यान गरेर पनि प्रयोग गर्न सकिन्छ। रिटेल डिजिटल मुद्राको पाइलट प्रोजेक्टको पहिलो चरणमा चार वटा बैंक संलग्न हुनेछन् । यसमा भारतीय स्टेट बैंक, आईसीआईसीआई बैंक , यस बैंक तथा आईडीएफसी फर्स्ट बैंक समावेश छन् ।

दोस्रो चरणको पाइलट प्रोजेक्टमा बैंक अफ बडोदा, युनियन बैंक अफ इन्डिया, एचडीएफसी बैंक र कोटक महिन्द्रा बैंकलाई समावेश गरिनेछ। मुम्बई, नयाँ दिल्ली, बेङ्गलोर र भुवनेश्वर जस्ता सहरलाइ रिटेल ई-रुपीको पहिलो चरणको पाइलट प्रोजेक्टमा समावेश गरिएको छ। त्यसपछिका चरणहरूमा अहमदाबाद, गान्तोक, गुवाहाटी, हैदराबाद, इन्दोर, कोची, लखनऊ, पटना र शिमला आदि सहरहरू सामेल हुनेछन्। परियोजना अगाडि बढ्दै जाँदा थप बैंक र सहरहरूलाई समावेश गरिनेछ। यी हुन् ई-रुपीका फाइदा : यो डिजिटल रुपैयाँ अर्थतन्त्र बलियो बनाउन सहयोगी साबित हुनेछ ।

मानिसहरूले आफ्नो खल्तीमा नगद बोक्नु पर्ने आवश्यक रहदैन । यसमा पनि मोबाइल वालेट जस्तै भुक्तानीको सुविधा हुनेछ । ई-रुपीले इन्टरनेट बिना पनि काम गर्नेछ। ई-रुपैयाँको मूल्य विद्यमान मुद्रा बराबर हुनेछ। यसलाई सजिलैसँग बैंकबाट नगद रुपैयाँमा रूपान्तरण गर्नसकिन्छ । यसका माध्यम बाट विदेशमा पैसा पठाउने लागत कम हुनेछ। ई-रुपी को बेफाइदा : यसको एउटा प्रमुख बेफाइदा के हुनसक्छ भने यसले पैसा लेनदेन संग सम्बन्धित गोपनीयता लगभग समाप्त गर्नेछ ।

सामान्यतया नगद कारोबार गर्दा परिचय गोप्य रहन्छ तर डिजिटल कारोबारलाई सरकारले नजिकबाट अनुगमन गर्नेछ । यस बाहेक ई-रुपीमा कुनै ब्याज उपलब्ध हुनेछैन। आरबीआईका अनुसार डिजिटल रुपैयाँमा ब्याज दिए त्यसले मुद्रा बजारमा अस्थिरता ल्याउन सक्छ । यसको कारण के पनि हो भने मानिसहरूले आफ्नो बचत खाताबाट पैसा निकाल्न र त्यसलाई डिजिटल मुद्रामा रूपान्तरण गर्न थाल्नेछन्।

प्रतिक्रिया