बिहीबार, वैशाख १३, २०८१

ज्यानमारा एड्स: आज विश्व एड्स दिवस

नेपालखोज २०७९ मंसिर १५ गते १३:२६

आज विश्व एड्स दिवस । यो दिवस मनाउनुको उद्देश्य जनतामा एड्स सम्बन्धी चेतना अभिवृद्धि गर्नु हो । एड्स एचआईभी अर्थात् ह्युमन इम्युनोडेफिशियन्सी भाइरसको कारणले हुन्छ। यो भाइरस चार दशकदेखि हामी बिच छ, तर आज पनि यसको कुनै ठोस उपचार छैन । यो भाइरसले प्रतिरक्षा प्रणालीलाई यति कमजोर बनाउँछ कि शरीरले अन्य रोगहरू सहन सक्दैन । वर्षको अन्तिम महिनाको पहिलो दिन अर्थात् डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस । एचआइभी एउटा यस्तो भाइरस हो, जसको समयमै उपचार हुन नसके पछि यसले एड्स रोगको रुप लिन्छ । यसको कुनै ठोस उपचार अहिलेसम्म उपलब्ध छैन, तर केही औषधीको सहयोगले भाइरल लोडलाई कम गर्न सकिन्छ, जसका कारण शरीरको प्रतिरक्षा प्रणाली बलियो रहन्छ।

एचआईभी सन् १९८१ मा पत्ता लागेको थियो र य‍ो चाडैं नै विश्वका धेरै देशमा पुग्यो । एचआईभी संक्रमित हुनुको सबैभन्दा ठूलो कारण असुरक्षित यौन सम्पर्क हो। धेरै अवस्थामा, संक्रमित रगतको सम्पर्कमा आएर पनि संक्रमण हुन्छ।

शिशुहरुमा यो संक्रमण आमा बाट सर्छ । यो भाइरस संसारमा आएको ४० वर्षभन्दा बढी भइसकेको छ । यसबाट संक्रमित व्यक्तिहरूलाई एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) दिइन्छ, जसले भाइरल लोडलाई कम गर्छ। समयमै उपचार गरियो भने धेरै फाइदा हुन्छ तर गरिएन भने एड्सको जोखिम बढ्छ । सामान्यतया, एड्स रोग एचआईभीको चपेटामा परेको धेरै वर्ष पछि लाग्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले पनि यो भाइरसले वर्षेनी लाखौं मानिसलाई संक्रमित गरिरहेको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा ३ दशमलव ८४ करोड मानिस यो भाइरसबाट संक्रमित भएका थिए । २०२१ मा एचआईभीका कारण विश्वभर ६ दशमलव ५ लाख मानिसको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाका कारण एचआइभी एड्सको रोकथाम गर्न नसकेको र यसका कारण आगामी १० वर्षमा ७७ लाख मानिसको ज्यान जाने सम्भावना रहेको बताएको छ । असुरक्षित यौनसम्पर्क गर्दा र संक्रमित रगतको सम्पर्कमा आउँदा एचआईभीको जोखिम बढछ । सही समयमा यसको उपचार सुरु गर्नु धेरै महत्त्वपूर्ण छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार एचआईभी संक्रमित हुँदा ज्वरो, घाँटी दुख्ने वा कमजोरी जस्ता लक्षण देखिन्छन् । त्यसपछि एड्स नबन्दासम्म यो रोगमा कुनै लक्षण देखिँदैन । एड्स भएमा तौल घट्ने, ज्वरो आउने वा राति पसिना आउने, थकान-कमजोरी जस्ता लक्षण देखिन्छन् । एचआईभी एड्समा परिणत हुन सामान्यतया तीन चरण पार गर्नु पर्छ ।

पहिलो चरण : एचआईभी संक्रमण व्यक्तिको रगतमा फैलिन्छ । य‍ो समयमा धेरै मानिसमा संक्रमण फैलने जोखिम सबैभन्दा बढी हुन्छ । यो चरणमा संक्रमित ब्यक्तिमा फ्लू को जस्तो लक्षण देखिन्छ। तर, कतिपय अवस्थामा संक्रमित व्यक्तिमा कुनै लक्षण पनि देखिँदैन ।

दोस्रो चरण : यो त्यस्तो अवस्था हो जसमा संक्रमित व्यक्तिमा कुनै लक्षण नदेखिए पनि भाइरस सक्रिय रहन्छ। कहिलेकाहीँ १० वर्षभन्दा बढी बित्छ, तर व्यक्तिलाई औषधिको आवश्यकता पर्दैन। यो अवधिमा व्यक्तिले संक्रमण फैलाउन सक्छ। अन्ततः भाइरल लोड बढ्छ र व्यक्तिमा लक्षणहरू देखा पर्न थाल्छ।

तेस्रो चरण : एचआईभी पत्ता लाग्ने बित्तिकै औषधि सुरु गरियो भने यो स्टेजमा पुग्ने सम्भावना निकै कम हुन्छ । यो एचआईभीको सबैभन्दा गम्भीर अवस्था हो जसमा व्यक्ति एड्सबाट पीडित हुन्छ। एड्सका कारण मानिसमा भाइरल भार धेरै बढ्छ र यो धेरै संक्रामक हुन्छ। यस्तो अवस्थामा उपचारविना व्यक्तिलाई ३ वर्षसम्म बाँच्न गाह्रो हुन्छ ।

असुरक्षित यौनसम्पर्क एचआईभी संक्रमण फैलने सबैभन्दा बढी जोखिम हो । त्यसैले यौनकर्मीहरुको सम्पर्कमा बिशेष सावधानी अपनाउनुपर्छ । यसका साथै सुई लगाएर औषधि सेवन गर्नेहरूबाट पनि टाढा रहनुपर्छ । एचआईभी पत्ता लागिसके पछि आत्तिनुको सट्टा तुरुन्तै एन्टिरेट्रोभाइरल थेरापी सुरु गर्नुपर्छ किनभने एचआईभीले शरीरलाई निकै कमजोर बनाउँछ र बिस्तारै अन्य रोगहरूले पनि सताउन थाल्छ । अहिलेसम्म यसको कुनै ठोस उपचार नभए पनि औषधिबाट यसलाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया