बिहीबार, जेठ ३, २०८१

आगामी महिनामा अझै मुल्य बृद्धि हुन सक्ने उपभोक्ताको आंकलन

नेपालखोज २०७९ मंसिर १६ गते १९:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति अपेक्षा सर्वेक्षण सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ ।

सर्वेक्षणमा २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको र अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा आठ सय ९९ व्यक्तिहरु थप गरिएको राष्ट्र बैंकको छ ।

सर्वेक्षणमा ८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा राष्ट्र बैंकको भनाई छ । त्यसैगरी, ९५ दशमलव सात प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ ।

खाद्य र खाद्य वस्तुको सबै उपसमूह; गैर-खाद्य वस्तु तथा सेवा र सबै उपसमूह; तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ । खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ । तीन महिना पछिको मध्य एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको सर्वेक्षणमा उल्लेख छ ।

तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेको सर्वेक्षणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया