बिहीबार, जेठ ९, २०८२

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

नेपालखोज २०७९ मंसिर १७ गते १०:१०

सर्लाही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।

धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भएका छन् । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहनुभएका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भएका भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भएका छन्। गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए । धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भएका छन् ।

पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेत्री जुलीकुमारी महतोसँग झा पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महतोले ३३ हजार तीन सय ८८ मत प्राप्त गरे भने झाले २३ हजार ६ सय ८६ मत ल्याए । धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित भए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गरे। महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे । सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भए ।

धनुषामा छ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीलाई पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित भएका छन् । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरी विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भएका छन् । उनीलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरेका हुन् । त्यहाँ जसपा नेता यादवले २४ हजार एक सय ७८ मत प्राप्त गर्दा कांग्रेस नेत्री यादवले २३ हजार २८ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादी नेता साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित हुनुभयो । सो क्षेत्रमा जसपाबाट डा वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी हुनुभयो भने तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार ६ सय ५३ मत मात्र प्राप्त गरे।

उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित भए। जनमत अध्यक्ष डा राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।

सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ ९२० मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भएका छन् । उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र) छाडेर जनमत पार्टीबाट उम्मेदवारी दत्र्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरे ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सके । कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १९१० मा स्वतन्त्र उम्मेदवारी दिएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी भए ।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भए । महोत्तरी क्षेत्र नम्बर १ मा पटकपटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए ।

एमालेका लक्ष्मी महतो कोइरी २३ हजार चार सय दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार तीन सय २ मत प्राप्त गरे । गत २०७०/७४ सालको निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भए । कांग्रेस नेता महेन्द्र राय महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भए ।

राय २५ हजार चार सय २० मत ल्याएर निर्वाचित हुँदा जसपाका यादवले २१ हजार दुई सय ९६ मतमा सीमित थिए । गत २०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरे । गत २०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा क्षेत्र नम्बर ३ छाडेर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भए ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लड्नुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा महतो दुई हजार ११ मतान्तरले पराजित भए । महेन्द्र रायले २३ हजार पाँच सय २९ मत ल्याएर विजयी हुँदा महतो २१ हजार पाँच सय १८ मतमा सीमित भएका थिए ।

यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन सर्लाही क्षेत्र नम्बर ५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भए । गत २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसद भएका थिए ।

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित हुनुभएको छ । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी भए । मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे । पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भए ।

श्रेष्ठले ३० हजार तीन सय ४१ मत ल्याएर विजयी हुदाँ पूर्वमन्त्री मियाँ भने २० हजार तीन सय ३६ मत प्राप्त गर्नुभएको छ । यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरी पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्तासँग पराजित भए । निर्वाचित भएका एमालेका गुप्ताले २४ हजार तीन सय १९ मत ल्याएका भने चौधरीले २४ हजार एक सय ५२ मत ल्याए ।

चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नाताबाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यसपटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ । ‘चुनावका बेला मतदातालाई लोभ्याउन ठूला ठूला नारा दिने तर निर्वाचित भएपछि नेता बिर्सिने गरेका छन्,’ राजविराज नगरपालिकाका स्थानीयवासी विजयानन्द झाले भने, ‘त्यसैको परिणाम स्वरुप अहिले ठूला ठूला नेताहरूलाई मतदाताले अस्वीकार गरेको देखिन्छ ।’ अब पनि नेताहरू नसुध्रिए उनीहरूका लागि आगामी चुनावमा झन असहज हुने उनको कथन छ ।

यता यसरी चुनाव हारेका अधिकांश पूर्वमन्त्रीले पार्टी र गठबन्धनभित्रको घात अन्तरघातका कारण पराजय भएको बताएका छन् । ‘अन्य कारणभन्दा पनि पार्टी र गठबन्धन दलभित्रको घात अन्तरघातका कारण जित्ने चुनाव पनि हारेको छु,’ माओवादी नेता तथा सिरहा क्षेत्र नम्बर ३ मा पराजित विश्वनाथ साहले भने, ‘हाम्रो क्षेत्रमा गठबन्धनका मत बढी छ, त्यो जितको लागि पर्याप्त नै हो तर गठबन्धनमा आबद्ध दलका नेताको असहयोग र घात अन्तरघातले चुनाव गुमाए ।’ यसको विषयमा हामी गम्भीर समीक्षा गर्छौं उनको भनाइ थियो ।

प्रतिक्रिया