शुक्रबार, वैशाख १४, २०८१

जर्मनीले विदेशी कामदारलाई प्रवेश दिने

नेपालखोज २०७९ मंसिर १८ गते १२:४१

काठमाडाैं । एकातिर द्रुत रूपमा बढिरहेको वृद्ध जनसंख्या र अर्कोतिर दक्ष कामदारको अभाव। महामारी र युद्धको युगमा जर्मन अर्थतन्त्रले अनेकौं चुनौतीहरूको सामना गरिरहेको छ। यो कठिन समयमा, जर्मन सरकारले गैर-युरोपियनहरूका लागि देशको श्रम बजार खोल्ने तयारी गरेको छ।

जर्मनीका आन्तरिक मामिला मन्त्री न्यान्सी फाजरका अनुसार जर्मनीले अध्यागमन नीतिमा हालै ल्याएको सुधार ” युरोपमा सबैभन्दा आधुनिक आप्रवास नीति हो ।” मन्त्रिपरिषद्ले सरकारको योजनाका महत्वपूर्ण बुँदा स्वीकृत गरेको छ । “हामीलाई मानिसहरू चाहिन्छ ताकि हामीले यो देशमा समृद्धि कायम राख्न सकौं,” जर्मन रोजगारदाता संघहरूको कन्फेडेरेसन का अध्यक्ष रेनर डुलगर भन्छन्। यससँगै उनले तत्काल कुनै कदम नचाले आगामी केही वर्षमा जर्मनीमा ७० लाखभन्दा बढी कामदारको अभाव हुने बताए । जर्मनीमा आईटी, नवीकरणीय ऊर्जा, बाल हेरचाह, ग्यास्ट्रोनमी जस्ता थुप्रै क्षेत्रमा कामदारको ठूलो अभाव छ।

अध्यागमन र प्रशिक्षणमा जोड : सरकारले दक्ष कामदारको अभावबाट गुज्रिरहेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न अध्यागमन तथा तालिम बढाउन चाहेको बताएको छ । एकातिर कामदारको अभावले विकासको गति सुस्त बन्दै गएको छ भने अर्कातिर वृद्धवृद्धाको संख्या बढ्दै गएकाले पेन्सन कोषमा दबाब बढिरहेको छ ।

मार्च २०२० मा, स्किल्ड माइग्रेसन ऐनमा सुधारको योजना बनाइएको थियो। यसमा व्यक्तिको योग्यतामा मात्र नभई नयाँ प्रणालीमा आधारित जागिर खोज्नेहरूका लागि अवसर कार्ड बनाइने कुरा उल्लेख छ । अदक्ष कामदारलाई पनि जर्मनीमा बस्ने मौका दिइनेछ । यद्यपि, यो तब मात्र सम्भव हुनेछ जब संघीय रोजगार निकायले निश्चित क्षेत्रहरूमा उनीहरूको आवश्यकता देख्छ। नयाँ सुधारको प्रस्तावलाई उद्योगले स्वागत गरेको छ । यो नीति नयाँ वर्ष २०२३ पछि मात्र लागू हुनेछ ।

चान्सलर ओलाफ स्कोल्ट्जले “पारदर्शी, रातो टेपमुक्त” अध्यागमन पोइन्ट प्रणालीको सुझाव दिएका छन्। सत्तारुढ गठबन्धनले जर्मन नागरिकताका लागि सहज नियम बनाउने आशा पनि राखिएको छ । उद्योगले थप सुधार चाहन्छ जर्मन सरकारले दक्ष कामदारहरूका लागि अध्यागमन नीतिलाई सहज बनाउनु अहिलेको अभावलाई ध्यानमा राखेर सही दिशामा अघि बढेको कदम हो, तर थप सुधारहरू आवश्यक छ । एसोसिएसन अफ जर्मन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री का एक प्रतिनिधिले तलब क्याप र विदेशबाट आएका प्रशिक्षार्थीहरूको नियुक्ति जस्ता क्षेत्रमा थप सुधार गर्न माग गरेका छन् । एसोसिएसन अफ जर्मन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री का डेपुटी प्रबन्ध निर्देशक आशिम डेर्क्सले स्थानीय पत्रिकालाई भनेका छन , ” यस विषयमा धेरै कम कुराकानी भएको छ । जर्मनीमा बढ्दो प्रशिक्षार्थी पदहरूको संख्यालाई ध्यानमा राख्दै हामी यस विषयमा अझ व्यावहारिक हुनुपर्छ ताकि बाहिरी देशबाट प्रशिक्षार्थीहरू ल्याउन सकियोस्।

जर्मनीको एक उद्योग संघका प्रमुख ह्यान्स-पिटर वोल्सीफरले जर्मनीको अध्यागमन विभागहरूलाई “रिसेप्शन सेन्टर” बन्न आह्वान गरेका छन्। यससँगै विदेशमा रहेका जर्मन दूतावासहरूलाई भिसा प्रक्रियालाई तीव्रता दिन र कामदारको अध्यागमनमा सहयोग गर्न आग्रह गरिएको छ । “अन्यथा मानिसहरू आउने छैनन्,” वोल्सीफरले रेनिशे ​​पोस्टलाई भने। “जर्मनीको छवि, विशेष गरी अध्यागमनको सन्दर्भमा, राम्रो छैन।”

हाल जर्मनीमा आधिकारिक रूपमा १,५३,००० दक्ष कामदारको दरबन्दी खाली छ, जसका लागि मानिस फेला परेका छैनन् । वोलसिफर भन्छन् – वास्तविक संख्या यो भन्दा धेरै छ , किनभने धेरै कम्पनीहरूले राजीनामाका कारण रिक्त पदहरूका बारेमा जानकारी दिँदैनन् । जर्मन उद्योगहरूले विगत केही वर्षदेखि दक्ष कामदारको अभावको सामना गरिरहेका छन्। यसमा कोरोना महामारी थपियो । धेरै देशबाट जर्मनी आउने मानिसले भिसाका लागि द्रुत अपोइन्टमेन्ट पाएका छैनन् । जर्मन उद्योगले पहिले नै ऊर्जा संकटदेखि लिएर अनेकौं दबाब सामना गरिरहेको छ। यस्तो अवस्थामा कामदारको अभाव अर्को ठूलो समस्या बनेको छ । यो समस्या लामो समयदेखिको हो, त्यसैले यसमा सरकारको विशेष हस्तक्षेप आवश्यक छ।

स्रोत : डीपीए , रोयटर्स

प्रतिक्रिया