सोमबार, माघ २३, २०७९

गौतम अडानी एसियाकै सर्वाधिक धनी व्यक्ति

नेपालखोज २०७९ मंसिर १८ गते १५:५३

काठमाडौं । सन् २००८ नोभेम्बर १० को रात त्यतिबेलाका भारतका १० औँ धनी व्यक्ति गौतम अडानी मुम्बईस्थित ताज होटलमा डिनर गर्दै थिए। त्यति नै बेला बन्दुकधारीहरुले अचानक गोली र ग्रेनेडले आक्रमण गर्न थाले ।

अत्याधुनिक हातहतियार बोकेका १० पाकिस्तानी लडाकु त्यो साँझ समुद्रबाट आएका थिए। छुट्टाछुट्टै समूहमा विभाजित ती लाडकूले सवारीसाधन अपहरण गर्दै दुईवटा महँगा होटललाई आफ्ना निशाना बनाए । ६० घन्टासम्म कब्जामा लिइएका ती होटलमा १ सय ६६ जनाको ज्यान गयो र यो घटनाले भारत र पाकिस्तानबीचको सम्बन्धमा थप चिसोपन ल्यायो।

पछि गौतम अडानीले इन्डिया टुडे म्यागजिनलाई भने, ‘होटलका कर्मचारीहरुले खाना खाइरहेकाहरुलाई हतारहतार केही घन्टाका लागि बेसमेन्टमा राखे र बाहिर रक्तपातपूर्ण अवस्थामा हामीलाई माथिल्लो तलाको हलमा सारेका थिए।’

हल १ सय जति पाहुनाले भरिएको थियो। ‘कोही सोफामुनि लुकेका थिए’, अडानीले भने, ‘कोही जीवनका लागि प्रार्थना गर्दै उम्किन खोजिरहेका थिए।’ त्यतिबेला आफू सोफामा बसिरहेको अडानी सम्झिन्छन। ‘मैले त्यहाँ फसेका पाहुनाहरुलाई भगवानमा विश्वास राख्न भनेको थिएँ’, उनले भने, ‘त्यहाँबाट मैले ५०० किलोमिटर टाढा अहमदाबादस्थित पिडामा रहेका परिवारलाई फोन गरेँ।’ त्यतिबेला उनका सुरक्षाकर्मी र चालक डराएको अवस्थामा बाहिर उभिरहेका थिए।

होटलमा एक रात बिताएपछि सैनिक टोलीको घेराबन्दीमा भोलिपल्ट बिहान अडानी र उनीसहितका बन्धकलाई होटल पछाडिको गेटबाट बाहिर निकालिएको थियो। ‘मैले मात्र १५ फिटको दूरीमा मृत्यु देखेँ’, सोही दिन आफ्नो निजी विमानमा अहमदाबाद फर्किएपछि उनले सञ्चारकर्मीहरुसँग भने ।

उपरोक्त घटनाको करिब १४ वर्षपछि ६० वर्षीय अडानी विश्वको तेस्रो धनी व्यक्ति भैसकेका छन् । उनी एलन मस्क र जेफ बेजोसपछिका विश्वकै सर्वाधिक धनीव्यक्ति समेत हुन् ।

अडानीको आधिपत्य बन्दरगाहदेखि ऊर्जा क्षेत्र सम्ममा छ। त्यहाँ उनले २३ हजारलाई रोजगारी दिएका छन्। उनको व्यवसायको बजार मूल्य २ सय ३० अर्ब डलरभन्दा बढी भएको बताइन्छ ।

भारतको प्रतिष्ठित समाचार नेटवर्क एनडीटीबी किन्न लागेको भनेर अहिले अडानीको निकै चर्चा भइरहेको छ। सञ्चारको क्षेत्रमा उनले लिएको यो पहिलो महत्वपूर्ण जोखिम हो। विद्यालय शिक्षा छाडेर व्यवसायमा लागेपछि अडानी धेरै समय अगाडि नै अर्बपति बनेका थिए। उनीसँग उच्च जोखिम मोल्न सक्ने क्षमता छ।

सन् १९९८ मा जनावरीमा अडानी र उनका सहयोगीलाई अहमदबादबाट बन्दुकधारीको समूहले फिरौतीका लागि कारबाटै अपहरण गरेको खबर पनि आएको थियो । अडानी र उनका सहयोगी बारम्बार अदालतले बयान दिन बोलाउँदा पनि नगएपछि अपहरणको आरोप लागेका दुई व्यक्ति सन् २०१८ मा रिहा भएका थिए।

लो प्रोफाइल भनेर चिनिने अडानी यस्ता घटनाका सम्बन्धमा त्यति चर्चा गर्न रुचाउँदैनन् । यद्यपि एकपटक उनले भनेका छन , ‘मेरो जीवनमा दुई वा तीनवटा दुर्भाग्यपूर्ण घटना भएका छन्।’

अडानी १६ वर्षको उमेरमा स्कुल छाडेर व्यवसायमा हात हाल्न मुम्बई गए। त्यतिबेला उनी हीराको व्यवसाय गर्थे तर उनको यो व्यवसाय धेरै समय टिकेन।

दुई वर्षपछि अडानी आफ्नो गृह राज्य गुजरात फर्किए र आफ्ना दाजुभाइले चलाएको उद्योग सञ्चालन गर्न थाले। अडानी समूह गुजरातमा कोइलाबाट चल्ने भारतकै निजी पावर स्टेसनको मालिक हो ।


कपडा व्यवसाय गर्ने मध्यमवर्गीय परिवारमा जन्मिएका अडानीले सन् १९९८ मा सामानको व्यापार गर्न आफ्नै कम्पनी खोलेपछि पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसयता विगत २४ वर्षदेखि बन्दरगाह देखि खानी, रेलमार्ग, पूर्वाधार, ऊर्जा तथा घरजग्गासम्मको कारोबारमा ऋण बोकेरै उनले हात हालेका छन्।

यस्तो जोखिम मोलाइका सम्बन्धमा एकजना टिप्पणीकार भन्छन्, ‘भारतको नयाँ पुस्तामा आक्रामक व्यबसाय गर्ने अडानी एक मात्र ब्यक्ति हुन्।’

अब यसमा कुनै शंका छैन कि अडानी भारतको सबैभन्दा ठूला पूर्वाधार व्यवसायी हुन्। उनी भारतको दोस्रो ठूलो सिमेन्ट उद्योग, १३ वटा बन्दरगाह तथा सात वटा विमानस्थलका मालिक हुन्। अहिले उनी दिल्ली र मुम्बईको बीचमा देशकै सबैभन्दा लामो एक्सप्रेस वे निर्माण गरिरहेका छन्।

अडानी भारतको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूला निजी व्यवसायी हुन्। उनको स्वामित्वमा कोइलाबाट चल्ने ६ वटा पावर स्टेसन छन्। यससँगै अडानीले ग्रिन हाइड्रोजनमा ५० अर्ब डलर लगानी गर्ने र ८ हजार किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले इन्डोनेसिया र अस्ट्रेलियामा पनि कोइला खानी किनेका छन्।

अडानीले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादनमा विश्वको शीर्ष व्यक्ति बन्ने लक्ष्य लिएका छन्। अडानीको व्यापार विस्तारको गति र मात्रा विगतका ठूला उद्योगीसँग तुलनायोग्य रहेको नीति विश्लेषक जेम्स र्क्याब्ट्री बताउँछन्। ‘भारतको कमजोर पूर्वाधारको भर पर्न नसकेर उनले आफ्नै निजी रेलवे तथा पावर लाइन निर्माण गरे’, जेम्स भन्छन , ‘घरेलु कोइलामा पहुँच सजिलो नभएकोले उनले इन्डोनेसिया र अस्ट्रेलियामा खानी किनेका छन् र आफ्नो बन्दरगाहबाट भारतमा सामग्री ल्याएका छन्।’

अडानीले विवादको पनि सामना गर्नुपरेको छ। नरेन्द्र मोदी पहिलोपटक गुजरातको मुख्यमन्त्री भएपछि उनीसँग अडानीको घनिष्ट सम्बन्ध सुरु भयो र अहिले मोदि प्रधानमन्त्री हुँदा सम्म त्यो घनिष्ट सम्बन्ध निरन्तर छ। त्यसैले पनि कतिपय आलोचकले उनीहरुलाई साम्राज्यवादी पुँजीवादको उदाहरण भनेका छन्।

‘यी दुईले आफ्नो पेसामा एकअर्कालाई फाइदा पुर्याएका छन्। मोदीको व्यवसायमैत्री नीतिले अडानीलाई व्यवसाय विस्तार गर्न मद्दत गरेको छ । अडानीले आफ्ना कम्पनीहरुको बिस्तार गरेका छन भने मोदीले ‘गुजरात मोडेल’ भन्दै धेरै मेगा प्रोजेक्टहरु निर्माण गरेका छन्। यस्ता आयोजनाहरूका कनरण त्यहाँ पूर्वाधार निर्माण भएको छ , विदेशी पुँजी आकर्षित भएको छ । ’ र्क्याब्ट्रीले भने।

२०१९ मा क्विन्सल्याण्ड , अस्ट्रेलियामा अडानीको कोइला खानी सुरु हुनुअघि वातावरणीय मुद्दाका कारण स्वीकृति प्राप्त गर्न निकै ढिलाइ भएको थियो र त्यसको पक्ष – विपक्षमा समूहहरु गठन भएका थिए।


अस्ट्रेलियास्थित गैरलाभकारी संस्था अडानीवाच नामक वेबसाइटले ‘ विश्वभर अडानी समूहका दुष्कर्महरु पर्दाफास गर्ने ’ दाबी समेत गरेको थियो । अडानी समूहले भने अस्ट्रेलियामा कानुन तोडेको आरोप अस्वीकार गर्दै आएको छ। सन् २०१९ मा अडानीको कोइलाखानीको विषयलाई लिएर क्विन्सल्यान्डमा विरोध प्रदर्शनहरु पनि भएका थिए ।

सन् २०१२ मा भारतको सरकारी लेखापरीक्षकले गुजरातका तत्कालीन मुख्यमन्त्रीलाई सरकारी ग्यास कम्पनीका अडानी र अन्य व्यवसायीलाई सस्तो इन्धन उपलब्ध गराएको आरोप समेत लगाएका थिए । सन् २०१७ मा एक पत्रकारले अडानीको कम्पनीले मोदीबाट अनुकूल व्यवहार पाएको दाबी गर्दै लेखहरुको शृंखला लेखेका थिए। अडानीको कम्पनी र मोदी सरकार दुबैले यस्ता आरोपको लगातार खण्डन गर्दै आएका छन्।

अडानीका जीवनीकार आरएन भास्कर भन्छन्, ‘अडानीको सम्बन्ध निर्माण र कायम राख्ने क्षमताले उसलाई व्यापार बढाउन मद्दत गर्यो।’ केरलामा अडानीको बन्दरगाह परियोजना त्यतिबेला सत्तामा रहेको वर्तमान प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्वीकृत गरेको थियो र अहिले त्यहाँ कम्युनिस्ट राज्य चलिरहेका बेला कम्युनिस्टहरु समेत उक्त परियोजनाको समर्थनमा छन्।

समाचार स्रोत: बीबीसी

प्रतिक्रिया