बुधबार, वैशाख १२, २०८१

भोलि त्रिवि दीक्षान्त समारोह : १० हजार विद्यार्थी दीक्षित हुँदै

नेपालखोज २०७९ मंसिर २२ गते ७:४५

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह भोलि शुक्रबार , मङ्सिर २३ गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने बताइएको छ ।

दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३ सय ९२ विद्यार्थी दीक्षित हुँदैछन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् ।

अर्यालले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीताका लागि १० हजार ३ सय ९२ जनाले मात्र आवेदन दिएको बताए । उनका अनुसार स्नातक तहतर्फ ६ हजार ६ सय ९१, स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ , एमफिल ५५ तथा विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन् ।

समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक समेत सहभागी हुनेछन् । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आदिको सहभागिता रहने बताइएकोछ । समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए ।

एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अङ्क ल्याउनेहरुलाई पदक वितरण गरिने छ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीहरुलाई यही मङ्सिर १५ देखि २२ गतेसम्म गाउन तथा स्कार्फ वितरण गरिरहेको छ । समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन का साथै स्कार्फ टोपी अनि छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन ,स्कार्फ तथा टोपी लगाउनुपर्ने हुन्छ । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आएको छ ।

प्रतिक्रिया