आइतबार, माघ २२, २०७९

दुई सय ६ वर्ष पुरानो झ्याम्टे मेला

नेपालखोज २०७९ मंसिर २३ गते ११:११

काठमाडौं । राई संस्कृतिसँग जोडिएको झ्याम्टे मेला आज इलामको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा लाग्दैछ। प्रत्येक बैशाख पूर्णिमा र मङ्सिरे पूर्णिमामा लाग्ने मेलामा स्थानीय क्षेत्रको सघन उपस्थिति रहने गरेको छ।

जतिबेला खलंगा पूर्णे डाँडामा बस्यो। त्यहाँ बडाहाकिम थिए। सुरक्षा दस्ता थिए। यस क्षेत्रमा राईहरूको सघन बसोबास थियो। मनोरञ्जनका लागि वडा हाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातीको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टा सहित सहभागि हुने राईहरूको नृत्य धेरैले मन पराए। यसले झ्याम्टे मेलाको रूप लिएको स्थानीय दीपक अधिकारीको तर्क छ।

अहिले पनि प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन झ्याम्टे मेला लाग्ने गरेको छ। स्थानीय वृद्ध कमलबहादुर राईका अनुसार जुन समय मान्छेसँग रमाइलोका साधन थिएनन्। जमघट हुने बहानाहरू थिएनन्। त्यसवेला पर्व, मेला नै रमाइलो गर्ने स्थलहरू हुने गर्दथे। भेटघाट हुने, कुराकानी हुने ठाउँको रुपमा मेला पर्वहरूको आयोजना हुने गरेका थिए। पछिल्लो समय तिनै मेलाहरू जाति विशेषको पहिचानको आधार समेत बन्ने गरेका छन्।

झ्याम्टे मेला खलंगाको आसपासमा फैलिएको करिब १३ रोपनी जमिनमा लाग्ने गर्दछ। राई भन्नुहुन्छ ‘हाम्रो हजुरबा पुस्ताले पनि झ्याम्टे मेलाको चर्चा गर्नु हुन्थ्यो।’ खलङ्गाको जन्मसँगै मेलाको उत्पति जोडिएको स्थानीयको दावी छ। मेलामा साकेला नाच्ने चलन अहिले पनि छ। वृद्ध राईका अनुसार पहिले साकेला नाचबाटै मन परेकी तरुनी तानेर लैजाने र श्रीमती बनाउने चलन नै थियो।

राई संस्कृतिसँग जोडिएको पूर्णे डाँडाको मेला माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्व पछि रोकिएको थियो। करिब २५ वर्ष सम्म त्यस स्थानमा मेला लाग्न सकेन। पछिल्लो समय स्थानीयको पहलमा गत वर्ष देखि मेला शुरु गरेको स्थानीय युवा अनुप मेवाहाङ राई बताउँछन्। पूर्णे डाँडाको संरक्षण र प्रचारमा प्रयास गरिरहेका मेवाहाङले झ्याम्टे मेला र खलंगाबारे धेरैकुरा थाहा नभएपनि स्थानीय युवाहरू राई संस्कृति भूसंरक्षणसँगै ऐतिहासिक सम्पदा संरक्षणमा प्रयास गरिरहेको बताउँछन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीबाट मेची राजमार्गमा ४६ किलोमिटरको दूरी पार गरेपछि मेची राजमार्गको करफोक खण्डमा आइपुगिन्छ। त्यसकै आडमा पर्छ ऐतिहासिक खलंगा अथवा पूर्णे डाँडा । लाप्चा, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसको यहाँ बसोबास रहेको छ। धान नाच, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन्।

लेखक केदार शर्मा आफ्नो लेखमा भन्नुहुन्छ ‘फिक्कलबाट इलाम बजारतिर लाग्दा चार किलोमिटर पूर्वमा करफोक विद्या मन्दिर माध्यमिक विद्यालय र पञ्चकन्या देवीको मन्दिर छ । वि.सं. २००९ मा करफोक विद्या मन्दिरमा भएको कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि देवकोटा र बालकृष्ण सम उपस्थित राष्ट्रिय कविगोष्ठीलाई इलामले नै प्रतिष्ठाको विषय मान्ने गरेको छ। यहाँ मास्तिरको पूर्णेडाँडामा वि.सं. १८७२ मा सुगौली सन्धि पछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो भनिन्छ। भ्याउनुभयो भने पूर्णेडाँडासम्म पनि पुगेर इलामको सम्पूर्ण भाग हेरे राम्रै हुन्छ।’

इलाममा सामरिक रुपमा समेत सुरक्षाका लागि प्रशासनिक अड्डा राख्ने थलोको खोजी हुदै थियो। १३ सय मिटरको उचाइमा रहेको सामरिक दृष्टिले समेत सहज देखिने पूर्णे डाँडामा पहिलो पटक प्रशासनिक अड्डा राख्ने व्यवस्था भयो । सुगौली सन्धिपछि वि स १८७५ मा इलामको सुर्योदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सारिनु दुई वर्ष अघिको प्रशासनिक अड्डा हो पूर्णे डाँडा।

प्रशासनिक अड्डाका ईटा लगायतका भग्नावशेषहरू अहिले पनि त्यहाँ पाइन्छन् । अड्डाका कलात्मक ढोकाहरू अहिले पनि गाउँघरमा पाइने गरेको स्थानीय दीपक अधिकारी भन्नुहुन्छ।

ई.स १८१६ अघि सिक्किम– दार्जिलिङ गोर्खा राज्य छँदा यस जिल्लाको सदरमुकाम दार्जिलिङ जिल्लाको नागरी भन्ने ठाउँमा थियो। सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धीले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडा हाकीम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पूर्णे डाँडामा सारेको अनुसन्धानकर्ता नरेन्द्रनाथ बाँस्तोलाले पूर्वाञ्चलमा सात सालको क्रान्ति नामक पुस्तकमा उल्लेख गरेका छन्। त्यसबेला तमोरनदी पुर्व लिम्बुवान करफोकबाट हेरिन्यो । तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो।

तस्बिरः ऐतिहासिक खलङ्गा नजिकै रहेको आइतबारे बजार। यो बजारले पूर्णे डाँडामा लाग्ने झ्याम्टे मेलाको झल्को दिन्छ। यो तस्बिर सन् १९६६ तिर / Daniel N. Kucij ले खिच्नुभएको हो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया