बिहीबार, जेठ २, २०८२

झोलुङ्गे पुलले फेरियो दैनिकी

नेपालखोज २०७९ मंसिर २६ गते ८:५१

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका दुई गाउँ जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयको जनजीवन सहज भएको हो । यसअघि कादेशबाट लेखानी पुग्न डेढघण्टा खर्चनुपर्नेमा पुल निर्माणसँगै दूरी १० मिनेटमा सीमित भएको छ ।

पुल निर्माणपछि समयको मात्रै बचतसँगै स्थानीयको जीवनमा समेत सहजता थपिएको छ । पठनपाठनका लागि लेखानी मावी आउने विद्यार्थीलाइ सहज भएको स्थानीय प्रेमबहादुर श्रीषको भनाइ छ । गण्डकी प्रदेश सरकारको रु दुई करोड ९३ लाख ८५ हजार छ सय ५० मा पुल निर्माण भएको हो ।

दुई गाउँ जोड्ने तीन सय ५९ मिटर लामो र ९५ मिटर अग्लो पुल निर्माणपछि स्थानीयवासीलाई सहज भएको निर्वतमान वडाध्यक्ष चित्राकुमारी श्रीषको भनाइ छ ।

पुल निर्माणपछि कादेशका झण्डै चार सय घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्न सहज भएको छ । साथै मध्यपहाडी लोकमार्ग भएर सिधैँ बागलुङ बजार आउन सहज भएको छ ।

प्रतिक्रिया