सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौं महानगरको आपत्ति

नेपालखोज २०७९ मंसिर २६ गते १५:४९

काठमाडौं । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।

काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए ।

उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गर्नुभएको छ । रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु-काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं.२२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो ।

सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।

प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन् । यो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ ।

रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए । यो अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।

ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सयवर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार-पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया