मंगलबार, वैशाख २५, २०८१

मानव जीवनमा सूर्यको महिमा

भरतमणी ज्ञवाली २०७९ मंसिर २७ गते ७:४७

ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी र त्यसको बनावट सूर्य हो । तापक्रम बिना शरीर निष्कृय हुन्छ । सूर्यले शरीरको ताप नियन्त्रण गर्छ ।

मानव जीवनमा सूर्यको महत्व ज्योतिष शास्त्रीय हिसाबले मात्र नभई विज्ञान र चिकित्सा शास्त्रका हिसाबले पनि अग्रस्थानमा आउँछ । सबल शरीर, मान सम्मान, आत्मसन्तुष्टि, स्वाभिमान र नेतृत्वका लागि सूर्यको साथ अनिवार्य हुन्छ । पूर्वीय मान्यताअनुसार सूर्यलाई ग्रहमा अग्रस्थान दिइएको छ । वेद तथा पुराणमा यसलाई सबैभन्दा बलशाली ग्रह मानिएको छ । यसको एक चक्रलाई एक वर्षमा रुपान्तरण गरिएको छ भने ज्योतिष शास्त्रका १२ राशी १२ महिनामा समेटिएको छ । पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा रहेको सूर्यले नै यो जगत्को सञ्चालन र नियन्त्रण गरेको छ । मानव जीवनका प्रत्येक घटनाका कारण पनि सूर्य नै हो ।

सूर्यलाई देवताको राजा भनिएको छ भने यो प्रकृतिको पनि राजा मानिन्छ । यसका बारेमा भविष्य पुराण, मत्स्य पुराण, पद्म पुराण, ब्रह्मा पुराण, मार्कण्डेय पुराण आदिमा विस्तृत वर्णन गरेको पाइन्छ । आदित्य, रवि, दिवाकर, भानु, भाष्कर, सविता, प्रभाकर, अनन्त, दिनकर, आर्क, दिनमानि, सूर्यादि नामले सम्बोधित सूर्य र राशिका आधारमा प्रत्येक महिनाको नामाकरण भएको छ । वेदमा संसारमा जति पनि जीव छन्, तिनीहरुको आत्मा ‘सूर्य आत्मा जगत्ः तस्थुषश्च’ भनिएको छ । जीव र आत्मा नमिलेसम्म जीवात्मा हुँदैन ।

हरेक जीवनको केन्द्र आत्मा हो भने आत्माको मूल स्रोत सूर्य हो । पञ्चतत्वमा अग्नि तत्वको मूल स्रोत सूर्य नै हो । मानव जीवनमा क्षमता र दक्षतासँगै सफलताको कारक सूर्यको सकारात्मक प्रभाव जरुरी हुन्छ । यसलाई ज्योेतिष शास्त्रले पहिलो प्राथमिकतामा राखेको छ । मानव जीवनमा सूर्यलाई कसरी सकारात्मक बनाउन सकिन्छ भन्ने विषयमा ज्योतिष शास्त्र र वैदिक ग्रन्थहरुमा व्यापक चर्चा गरिएको पाइन्छ । मानव जीवनलाई सफल, सार्थक र समुन्नत बनाउनमा सूर्यको साथ र सहयोग अनिवार्य मानिएको छ । संसारमा जीवन उत्पति र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलिरहेको यो ग्रहले हरेक क्षण ऊर्जा र प्रकाश प्रदान गरिरहेको हुन्छ ।

ऊर्जा र प्रकाश नहुने हो भने हाम्रो जीवन कल्पनासम्म गर्न सकिँदैन । त्यसैले वैदिक परम्परामा यसलाई भगवानको रुपमा लिइएको छ । भगवान सूर्य सृष्टिका लागि पिता समान मानिएको छ । पिता र प्रकृति बिना जीवन सम्भव नभएकाले ज्योतिषमा यसलाई पिताको कारण ग्रह मानिएको हो । पिताको कारक ग्रह भएकाले यसलाई क्रुर ग्रहका रुपमा पनि लिइन्छ । किनकि पिता कठोर भइकन पनि सृष्टि र पालनकर्ताको रुपमा चिनिन्छन् ।

ज्योतिष शास्त्रले सृष्टि र पालककर्तालाई केन्द्रमा राखेर अन्य ग्रहहरुलाई अन्यान्य स्थान सूर्य आत्मा, शरीर, चन्द्र मन, बुध वुद्धि, आदि आदि । (लेखक दक्षिण एशियाली ज्योतिष महासङ्घका सङ्गठन सचिव हुनुहुन्छ)

प्रतिक्रिया