वाग्मती प्रदेशसभा : पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान

वाग्मती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।
बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए ।
साथै यही पुस १४ गते दिनको २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले बागमती प्रदेशसभाका एक सय नौ जना सदस्यलाई प्रदेशसभाको सभाकक्षमा शपथ गराउने छ ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यको सहभागिता रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताए ।
प्रतिक्रिया