शनिबार, जेठ ४, २०८२

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर

नेपालखोज २०७९ पुष ९ गते २१:४८

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताए ।

मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको बताउँदै त्यसले दुईवटा चुनाव सम्पन्न गरी राजनीतिक अन्योलताको अन्त्य गरेकाले अहिले नै गठबन्धनको विकल्प खोज्न नहुने बताए । वामपन्थी एकताका नाममा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) अलग हुन नहुने भन्दै उनले भने, ‘तत्कालीन नेकपा (एमाले)को ज्यादतिका कारण जुन समूहसँग हामीले विद्रोह ग¥यौँ, त्यसको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन, उनीहरू सच्चिन जरुरी छ ।’

पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहेनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै मन्त्री कुँवरले चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निरास हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

सरकारले पत्रकार, कलाकार तथा स्वरोजगारमा आवद्ध श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेट्ने उद्देश्यले यसको दायरा फराकिलो बनाएको उनले जानकारी दिए । प्रत्येक प्रदेशमा १२ जनाको प्रतिनिधित्व हुने गरी सबै प्रदेशबाट मजदुरका केटाकेटीलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

प्रतिक्रिया