शनिबार, असोज २६, २०८१

फ्लासब्याक– २०२२: सन् २०२२ का ती घटना जुन अस्मरणीय रहनेछन्

नेपालखोज २०७९ पुष १० गते १२:०३

काठमाडाैं । सन् २०२२ केही अभूतपूर्व घटनाहरूको लागि सधैं सम्झनामा रहनेछ । तीमध्ये केही हाम्रो पृथ्वीमा र केही पृथ्वी बाहिर भए, जसका हामी साक्षी बन्यौं।

नासाद्वरा क्षुद्रग्रहको बाटो परिवर्तन : सेप्टेम्बर २८ को दिन मानव इतिहासमा सधैं स्मरणीय रहनेछ। यस दिन नासा पृथ्वीको नजिकैबाट गुज्रिरहेको एउटा क्षुद्रग्रहको बाटो परिवर्तन गर्न सफल भयो । अन्तरिक्षबाट पृथ्वीतर्फ आउने ठूला चट्टान र क्षुद्रग्रहहरूलाई पृथ्वीतर्फ आउनबाट रोक्न सकिन्छ कि सकिदैन भन्ने कुरा जान्नका लागि पनि अन्तरीक्ष यान सँग उक्त क्षुद्रग्रहको टक्कर गराइएको थियो । यो परीक्षण मार्फत यस्तो गर्न सकिन्छ भनेर प्रमाणित भएको छ।

मानव रगतमा माइक्रोप्लास्टिक : माइक्रोप्लास्टिकले मानव शरीरमा पार्ने असरका सम्बन्धमा अनुसन्धान जारी छ । मार्च २०२२ मा प्रख्यात जर्नल ‘इनभाइरोन्मेन्ट इन्टरनेशनल’ मा एक रिपोर्ट प्रकाशित भएको थियो, जसमा एक अनुसन्धानमा परिक्षणका लागि लिइएको रगतको नमूनाको ८० प्रतिशतमा माइक्रोप्लास्टिक्स भेटिएको दाबी गरिएको थियो।

माइक्रोप्लास्टिकका यी कणहरू पाँच मिलिमिटरभन्दा साना हुन्छन्। यी माटो वा समुद्रमा प्लास्टिकका ठूला टुक्राहरू विघटन र पग्लिएपछि बन्छन्। यी साना कणहरूले सम्पूर्ण वातावरणलाई प्रदूषित गर्छन्। मानव शरीरमा यिनीहरूको उपस्थितिको प्रभावका बारेमा केही भन्न नसकिए पनि यसबिषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूलाइ यो हाम्रो शरीरका कोशिकाहरूका लागि खतरनाक साबित हुन सक्ने डर छ ।

फुटबल विश्वकपमा बने अनेकन नयाँ कीर्तिमान : कतारमा सम्पन्न फिफा विश्वकपमा धेरै नयाँ कीर्तिमान बनेका छन् । विश्व फुटबलमा स्थापित नयाँ कोसेढुङ्गाका कारण यो विश्वकप इतिहासमा फरक स्थान बनाउन सफल भयो । कुनै पनि मुस्लिम देश वा सम्पूर्ण अरब संसारमा आयोजना गरिएको यो पहिलो विश्वकप थियो।


फ्रान्सकी रेफ्री स्टेफनी फ्रापार्ट फुटबल विश्वकपमा अवतरण गर्ने पहिलो महिला रेफ्री बनेकी छिन् । उनले जर्मनी र कोस्टारिकालाई समूहगत खेलमा प्रतिस्पर्धा गराएकि थिइन । स्टेफनीसँग महिला म्याच रेफ्रीहरूको पुरै टिम थियो, जसको नेतृत्व उनले गरेकी थिइन्। उक्त टिममा ब्राजिलकि नेउजा ब्याक तथा मेक्सिकोकी करेन मेडिना पनि थिए । मोरक्कोले यो विश्वकपमा चमत्कार देखायो। विश्वकप सम्पूर्ण अफ्रिका र अरब संसारबाट सेमिफाइनलमा पुग्ने पहिलो मुलुक बन्न सफल भयो त्यो पनि आफ्नो पहिलो विश्वकप सहभागीतामै ।


यो विश्वकप लियोनल मेस्सीको नाममा रह्यो । उनको कप्तानीमा अर्जेन्टिनाले पाँचौं प्रयासमा विश्वकप जित्यो । यस अघि अर्जेन्टिनाले सन् १९८६ र १९७८ मा विश्वकप जितेको थियो भने मेस्सिले लगातारको प्रयासका बाबजुद आफ्नो देसलाइ विश्वकप जिताउन सकेका थिएनन् ।यसैगरि फ्रान्सका केलियन एमबाप्पेले विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध तीन गोल गरे । यसअघि सन् १९६६ मा जेफ हर्स्टले पश्चिम जर्मनीविरुद्धको फाइनलमा इंग्ल्याण्डका लागि तीन गोल गरेका थिए ।

विश्वको जनसंख्या आठ अर्बभन्दा बढी : संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार १५ नोभेम्बर २०२२ मा विश्वको जनसंख्या ८ अर्ब पुग्यो । त्यस दिन जारी गरेको विज्ञप्तिमा राष्ट्रसंघले भनेको छ, “पृथ्वीको जनसंख्यामा यो अभूतपूर्व बृद्धिको मुख्य कारण पहिलेको तुलनामा मानिसको उमेरमा भएको वृद्धि हो। मानिसको उमेर अहिले राम्रो स्वास्थ्य सुविधा, खाद्यान्न , व्यक्तिगत सरसफाइ तथा औषधिहरूका कारण बढेको हो ।” यसको अर्को कारण धेरै देशहरूमा जन्मदरमा निरन्तर वृद्धि हो।
संयुक्त राष्ट्रसंघले पनि हाम्रो जनसंख्या आठ अर्बबाट ९ अर्ब पुग्न १५ वर्ष लाग्ने बताएको छ । जनसङ्ख्या ७ अर्बबाट ८ अर्बमा पुग्न १२ वर्ष लाग्यो तर त्यसको तुलनामा भविष्यमा जनसङ्ख्या वृद्धिको गति अलि सुस्त हुनेछ ।

मलेरियाको भ्याक्सिन : अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले यो वर्षको सेप्टेम्बरमा जारी गरेको एक विज्ञप्तिमा, ‘विश्व परिवर्तन गर्न सक्ने मलेरिया खोप विकास गरेको दाबी गरे । यो खोप अर्को वर्षसम्म सबैका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । मलेरियाका कारण विश्वमा वर्षेनी चार लाख मानिसको मृत्यु हुने गरेको छ । यो खोप प्रारम्भिक परीक्षणमा ८० प्रतिशत प्रभावकारी साबित भएको छ । मलेरियालाई विश्वभर शिशु मृत्युदरमा वृद्धिको प्रमुख कारण मानिन्छ । यसका लागि खोप बनाउने कुरा निकै चुनौतीपूर्ण सावित हुँदै आएको थियो, किनभने मलेरियाका लागि जिम्मेवार भाइरस प्रकृतिमा निकै जटिल हुन्छ ।

‘लैङ्गिक इतिहास’ रच्ने लेडस : ‘आइस स्केटिङ’ शीतकालीन ओलम्पिकमा हुने यस्तो प्रतियोगिता हो, जसमा मानिस एक्लै वा आफ्नो साथीसँग सहभागी हुन्छन्। यसमा पुरुष वा महिला लिङ्गसँगै ‘गैर बाइनरी’ अर्थात् महिला वा पुरुषमा लिङ्ग निश्चित नभएका व्यक्तिहरूले पनि भाग लिन सक्छन्। टिमोथी लेडस अमेरिकाका चर्चित ‘फिगर स्केटर’ हुन् र उनले यसै वर्ष फेब्रुअरीमा बेइजिङमा आयोजना भएको शीतकालीन ओलम्पिकमा सहभागी भएर इतिहास रचेका छन् । लेडसले प्रतियोगितामा कुनै पदक त जित्न सकेनन् र उनी आफ्नो साथी एश्ले केनसँग सातौं स्थानमा रहे। यद्यपि आफ्नो लैङ्गिक पहिचानका कारण उनले विश्वभरका फ्यानहरूमा छाप छोडिन्।

जेम्स वेब टेलिस्कोपले टाढाको ‘समय तालिका’ देखाउँछ : जुलाईमा टाढाको अन्तरिक्षको पहिलो तस्बिर पठाएदेखि, जेम्स वेब टेलिस्कोप निरन्तर हेडलाइनमा छ । विश्वको यो सबैभन्दा ठूलो टेलिस्कोपले लगातार ब्रह्माण्डको नदेखेका कुनाका अचम्मका तस्बिरहरू पृथ्वीमा पठाउँदै आएको छ । यी मध्ये एक JADES-GS-z13-0 Galaxy को तस्वीर थियो, जसको उमेर 13 अरब वर्ष भएको बताइन्छ । यसै आधारमा यो आकाशगंगा ‘बिङ ब्याङ’ को घटनापछि बनेको मानिन्छ । यस सन्दर्भमा, यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा पुरानो ग्यालेक्सी मात्र होइन, यो पृथ्वीबाट सबैभन्दा टाढाको आकाशगंगा पनि हो।

विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया : यो वर्षको जुनमा वैज्ञानिकहरूले विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया फेला पारेको जानकारी दिएका थिए । चाखलाग्दो कुरा के भने यसलाई हेर्न माइक्रोस्कोप आवश्यक पर्दैन। यो ब्याक्टेरियालाई ‘थियोमार्गेरिटा म्याग्निफिका’ नाम दिइएको छ । यो हाम्रो कपाल जत्तिकै ठूलो छ । यसको लम्बाइ करिब एक सेन्टिमिटर अर्थात् अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो ब्याक्टेरियाभन्दा ५० गुणा ठूलो छ।

प्रतिक्रिया