फ्लासब्याक : २०२२ युक्रेनमा आक्रमण गरेर रुसले के पायो ?
काठमाडाैं । रुस र युक्रेनबीच जारी युद्धको ३०० दिन पूरा भैसकेको छ । संयुक्त राष्ट्र संघको उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) का अनुसार युद्धमा हालसम्म १७ हजार ५ सय ९५ ले ज्यान गुमाएका छन् । यस अनुसार पछिल्ला ३ सय ६ दिनमा दैनिक ५७ जनाले ज्यान गुमाएका छन् । युद्धमा मारिएका स्थानीयहरुको ( युक्रेनि ) संख्या करिब ६,८२६ छ ।
कीव स्कुल अफ इकोनोमिक्स (केएसई) का अनुसार, युक्रेनको अर्थतन्त्रले सेप्टेम्बर २०२२ सम्म लगभग १२,७०० मिलियन युएस डलरको नोक्सानी भोगेको छ, जसलाई रिकभर गर्न लामो समय लाग्न सक्छ । विश्व बैंकका अनुसार यो वर्ष युक्रेनको अर्थतन्त्र ३५ प्रतिशतले संकुचित भएको छ भने युक्रेनको पुनर्निर्माण गर्न ३४,९०० मिलियन डलर आवश्यक पर्नेछ । यो रकम युद्धअघिको युक्रेनको अर्थतन्त्रको डेढ गुणा बराबर हो। अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी)का अनुसार दुई देशबीचको द्वन्द्वले विश्व अर्थतन्त्रमा समेत असर परेको छ ।
युद्धअघि विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतको दरले वृद्धि हुने अनुमान गरिएको थियो, जुन २ दशमलव २ प्रतिशतमा झरेको छ ।
आखिर रुसले के हासिल गर्यो ?
इन्स्टिच्युट फर द स्टडी अफ वार (ISW) का अनुसार रुसले ३०० दिने युद्धमा चार सहर कब्जा गरेको थियो । यसमा खेरसन, डोनेट्स्क, लुहान्स्क तथा रुसी सेनाले कब्जा गरेको जापोरिझ्झ्याका केही भाग समावेश छन् । रुसी सेनाले अहिलेसम्म कुनै पनि सहरमा पूर्ण रूपमा कब्जा जमाउन सकेको छैन । युक्रेनी सेनाले हालसालै खेरसनको ठूलो क्षेत्र आफ्नो कब्जामा लिएको छ ।
बमबारीमा १.३५ लाख भवन ध्वस्त : यो युद्धको भयावह अवस्थाबीच युक्रेनबाट ७८.३ लाख मानिस घरबार छोडेर भागेका छन् । अर्कातर्फ ६५ लाख मानिसले सबै कुरा छोडेर युक्रेनमै नयाँ बासस्थान बनाएका छन् । यति मात्र होइन, युद्धमा ४ सय ३७ बालबालिकाले ज्यान गुमाएका छन् । युद्धका भयावह दृश्य देखेर लाखौं बालबालिका मानसिक तनावबाट गुज्रिरहेका छन् । बिजुली र पानी विहीन लाखौं जनता : संयुक्त राष्ट्रसंघका अनुसार युद्धग्रस्त युक्रेनका एक करोडभन्दा बढी मानिसले आधा – अपूर्ण बिजुली , पानी र अस्पताल सुविधा पाइरहेका छन् । बिजुली नहुँदा लाखौं मानिस कस्टकर जीवनयापन गरिरहेका छन् । यति मात्र होइन, आवश्यकता अनुसारको खानासमेत नपाउने बालबालिका लाखौँको संख्यामा छन् ।
रुसि आक्रमणमा १.३५ लाख भवन ध्वस्त : केएसईका अनुसार रुसको सैन्य कारबाहीमा युक्रेनका बहुतल्ले भवनहरुमा सबैभन्दा बढी क्षति पुगेको छ । रुसको बमबारीका कारण युक्रेनमा १.३५ लाख भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन । यदि तिनको पुन: निर्माण गर्ने हो भने ५,०५० मिलियन डलर खर्च हुनेछ । रुसमाथि प्रतिबन्धसहित चौतर्फी आक्रमण : अमेरिका लगायत युरोपेली देशहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै चौतर्फी हमला गरेका छन् । ओैधौगिक उत्पादन , आयात–निर्यातसँगै तेल र ग्यास आपूर्तिमा प्रतिबन्धले रुसि अर्थतन्त्रलाइ हल्लाएको छ । त्यहाँ मुद्रास्फीति दर १४ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा पनि यस्तै अवस्था रहने अनुमान गरेको छ ।
युरोपेली देशहरू पनि पीडित छन् : अमेरिकालगायत युरोपेली मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउन थालेपछि उनीहरूले समेत घाटा बेहोरेका छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको सूचीमा बेलायत एक स्थान तल झरेको छ । अमेरिकासँगै फ्रान्स, जर्मनीलगायत युरोपेली मुलुकमा पनि ऊर्जा संकटको अवस्था छ । सारा विश्व विभाजित : रुस र युक्रेनबीचको युद्ध अघि बढदै जाँदा सारा विश्व दुई भागमा विभाजित भयो । अमेरिका र युरोपेली देशहरु एकजुट भएर अगाडि आए । योसँगै चीन, पाकिस्तानलगायत धेरै देश रुसको साथमा उभिए । अमेरिकाले युक्रेनलाई पूर्ण सहयोग गरिरहेको छ भने नेटो सेनाले युक्रेनको सीमामा पूर्ण सहयोग गरिरहेको छ ।
प्रतिक्रिया