शनिबार, असोज २६, २०८१

बिहीबारदेखि रियालिटी सो ‘द पोएट आइडल’

नेपालखोज २०७९ पुष १३ गते ७:४६

काठमाडौं । कविता बाचनमा आधारित नेपालको पहिलो रियालिटी सो ‘द पोएट आइडल’ पुस १४ देखि प्रसारणमा आउने भएको छ । स्व . कवि एवं गितकार क्षेत्रप्रताप अधिकारीका पुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण एवम् निर्देशन गरिएको यो सो को पहिलो एपिसोड पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बजे प्रसारण आउने बताइएको छ ।

यो प्रतिस्पर्धात्मक कार्यक्रम हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट राति साढे ८ मा प्रसारण हुनेछ भने ओएसआर रियालिटी युट्युब च्यानलमा पनि यसको प्रसारण गरिनेछ । प्रतियोगिताको निर्णायकको भुमिकामा कविद्वय विप्लव ‘प्रतिक’ र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त देखा पर्दैछन् ।

‘द पोईट आइडल’का विजेता कविले दस लाख रूपियाँ नगद प्राप्त गर्ने छन् भने यात्रा पब्लिसिङ्ग हाउसले विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिदिने बताइएकोछ । असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेहरुको सङ्ख्या ५० भन्दा बढी थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कवि अन्तिम प्रतिस्पर्धाका लागि छानिने छन् ।

सोमा सहभागी कविहरूले कविता लेखन तथा वाचन गर्नेछन् भने कविता लेख्नका लागि छुट्टाछुट्टै विषय समेत दिइनेछ । यो रियालिटि शो मा दर्शकहरूले आफूलाई मन परेका प्रतिस्पर्धी कवि – कवयित्रीलाई भोट हाल्न पाउने तथा अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिदै जाने बताइएकोछ ।

प्रतिक्रिया