शुक्रबार, जेठ ४, २०८१

राति ११ बजेपछि पनि फिल्म देखाउन पाइने

नेपालखोज २०७९ पुष १३ गते ७:५१

काठमाडौं । राती ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर फिल्म चलाउन सक्ने निर्णय गरेको छ । उक्त समयमा फिल्म प्रदर्शन गर्नु परे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ – बोर्डले भनेको छ ।

यसअघि राती ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । चलचित्र विकास बोर्डले प्रदर्शन को एकसाता अघि नै फिल्म सेन्सरका लागि सिफारिस लिनुपर्ने नियम पनि परिवर्तन गरेको छ ।

बोर्डले फिल्म रिलिजको चार दिनअघि भित्र सिफारिस लिनुपर्ने नयाँ निर्णय गरेको हो । प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएका बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

यसै गरि चलचित्र क्षेत्रका समस्या समाधानका लागि सम्बद्ध निकायसँग वार्ता, छलफल तथा अन्तरक्रियाका लागि चलचित्र विकास बोर्ड तत्पर रहेको अध्यक्ष भुवन केसीले बताएका छन् । फिल्म सेन्सर र रात्रीकालिन शोका कुरालाई लिएर चलचित्र संघले आन्दोलन घोषणा गरेको थियो । त्यहि सन्दर्भमा बोर्डको बैठकले संघको माग पुरा गर्ने भन्दै यो निर्णय लिएको हो ।

प्रतिक्रिया