३५ महिनापछि चीनले खोल्यो नाका
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बने लगत्तै चीनले नेपाली बस्तु माथि लगाउँदै आएको अघोषित प्रतिबन्ध फुकुवा गरेको छ ।
रसुवा भन्सार कार्यालयका अनुसार ३५ महिनादेखि नेपाली सरसामान लान बन्द गरिएको उक्त नाका मंगलबारदेखि खुला भएको छ । कोभिड–१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला भएको हो ।
नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् । भन्सार कार्यालय रसुवाका अनुसार मंगलबार नेपालबाट ६ वटा ट्रकमा बाँसका मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएका छन ।
कोरोना महामारीपछि २०७६ माघ १५ देखि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत बन्द थियो । सोमबार मात्रै ल्हसास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए । यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द नै छ ।
प्रतिक्रिया