शुक्रबार, चैत १६, २०८०

फ्लासब्याक २०२२ : दस करोड मानिस विस्थापित – यूएन

नेपालखोज २०७९ पुष १४ गते १७:५१

एजेन्सी । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले सन् २०२२ मा विश्वभरका १० करोड मानिस आफ्नो घर छाड्न बाध्य भएको बताएको छ ।

यूएनएचसीआरले विस्थापनको यो संख्या नयाँ रेकर्ड भएको जानकारि समेत दिएको छ । शरणार्थी सम्बन्धि यो अन्तर्राष्ट्रिय निकायका अनुसार यो सन् २०२१ को नौ करोड बिस्थापन भन्दा बढि हो । यो विस्थापन युक्रेन, इथियोपिया, बुर्किना फासो, सिरिया तथा म्यानमारलगायत विश्वका अनेकौं भागमा भएका हिंसा वा अन्य कारणले भएको हो ।

हजारौं आप्रवासीहरूले युरोपलाई मनपर्ने गन्तव्यका मानेर त्यसतर्फ लागेका संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। यस क्रममा उनी मानव तस्करहरूको हातमा समेत परे भने भूमध्यसागरको खतरनाक यात्रा पनि गरे । कतिपय आप्रवासीले आफ्नो यात्रा पूरा गर्न सकेनन्।

द्वन्द्वका कारण घर छाड्न बाध्य – यमनमा लामो समयदेखि जारी द्वन्द्वका कारण ४३ लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । मे मा संयुक्त राष्ट्र आप्रवासन एजेन्सी आईओएम तथा युरोपेली संघको मानवीय सहायता शाखा ईसीएचओ ले द्वन्द्वबाट विस्थापित सवा ३ लाख भन्दा बढी मानिसको आवश्यकता पूरा गर्न काम गरिरहेको बताए । ‘यमनमा आप्रवासीहरूको अवस्था पनि खराब हुँदै गएको छ, विशेष गरी यमनमा डरलाग्दो अवस्थामा बाँचिरहेका महिलाहरू जो आफ्नो जीवनमा थोरै नियन्त्रणमा छन्,’ देशमा आईओएम मिसनका प्रमुख क्रिस्टा रोटेनस्टेनरले भने ।

सिरियाको अवस्था अझ नाजुक – ११ वर्षदेखि सिरियामा जारी युद्धले जनजीवन प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ जन्मिएका करिब ५ लाख बालबालिकाले देशमा शान्ति देखेनन् । ८० हजार भन्दा बढी सिरियालीले जोर्डनमा भएको विशाल शिविरलाई नै आफ्नो घर बताउँछन्। जुलाईमा जोर्डनको राजधानी, अम्मानमा यूएनएचसीआर प्रतिनिधि डोमिनिक बार्ट्सले भने अनुसार अहिले विस्थापितहरू फिर्ता हुने सम्भावना पनि आशाजनक छैन।

जोर्डनमा करिब ६ लाख ७५ हजार सिरियाली शरणार्थी छन् । ती मध्ये धेरैजसो शहर र गाउँहरूमा स्थानीय समुदायहरू बीच बस्छन्, जसमध्ये १७ प्रतिशत मात्र दुई मुख्य शरणार्थी शिविर, जटारी र अजराकमा बस्छन् । पाँच वर्षअघि म्यानमारमा लाखौं रोहिंग्या मुसलमान आफ्नो घरबार छोडेर भागेका थिए। छिमेकी बंगलादेशको कक्स बजार शिविरमा करिब १० लाख मानिस छन् ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको तथ्याङ्कले देखाउँछ कि डिसेम्बरसम्म, युरोपभर ७८ लाख भन्दा बढी युक्रेनी शरणार्थी दर्ता भएका थिए । अर्कातर्फ इथियोपियाको टिग्रे क्षेत्रमा सशस्त्र द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भए । यूएनएचसीआरले विश्वभर आफ्नो घर छोडेर भाग्न बाध्य भएका लाखौं मानिसका लागि जाडो निकै चुनौतीपूर्ण साबित हुने जनाएको छ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यहि वर्षको जुनमा भनेका थिए, ‘हाम्रो विश्व आन्तरिक विस्थापनको संकटको सामना गरिरहेको छ। द्वन्द्व , प्रकोप र जलवायु संकट जस्ता त्रासदीले विश्वभरका मानिसहरूलाई आफ्नो देशभित्रै विस्थापित गरेको छ।’

प्रतिक्रिया