प्रभु साहको नेतृत्वमा आम जनमत पार्टी गठन
काठमाडाैं । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनमत पार्टी घोषणा गरेको हो ।
भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।
आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए ।
यसैबीच साहको अध्यक्षतामा बसेको विस्तारित वैठकले स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सहभागी भई स्वतन्त्र उम्मेदवार जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आमजनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।
प्रतिक्रिया