महान् फुटबलर पेलेकाे ८२ वर्षको उमेरमा निधन
काठमाडौं । ब्राजिलका दिग्गज फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिलका सर्वकालीन महान खेलाडी र तीन पटकको विश्वकप विजेता पेलेको परिवारका सदस्यले उनको निधन भएको जानकारी दिएका छन् । पेलेकी छोरी केली नासिमेन्टोले आफ्नो इन्स्टाग्राम पेजमा लेखेकी छिन् – हामी जे छौं उहाँकै कारण छौं । हामी उहाँलाई असीम माया गर्छौं।
ब्राजिलको मिनास गेराइस राज्यमा जन्मिएका महान फुटबलर पेले सेलेकाओका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले ९५ खेलमा कीर्तिमानी ७७ गोल गरेका छन् । एक पेशेवर फुटबलरका रूपमा, पेलेले ३ पटक फिफा विश्वकप जितेका छन्, जुन अझै पनि फुटबलरहरुका लागि रेकर्ड हो।
एडसन अरान्तेस डो नासिमेन्टो (Edson Arantes do Nascimento) को बहुप्रचलीत नाम पेले हो । उनि २३ अक्टोबर १९४० मा ट्रेस कोराकोएस , ब्राजिलमा जन्मिएका थिए । पेले पेटको क्यान्सरको केमोथेरापी गराइरहेका थिए । यी दिग्गज फुटबलरलाई श्वासप्रश्वासमा समस्या भएपछि नोभेम्बर २९ मा अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनको शरिरले केमोथेरापीको प्रतिक्रिया दिन बन्द गर्यो र उनलाई प्यालिएटिभ केयरमा सारिएको थियो ।
२०२१ मा कोलोनबाट पेलेको ट्युमर हटाइएको थियो र त्यतिबेलादेखि नै उनले केमोथेरापी लिइरहेका थिए । फिफा द्वारा ‘द ग्रेटेस्ट’ भनिएका पेलेले तीनवटा विवाह गरेका थिए र उनका ७ जना सन्तान छन्।
प्रतिक्रिया