शुक्रबार, असोज २५, २०८१

खेलकुद क्षेत्रलाई सरकारले हेर्नुपर्छ : अध्यक्ष ओली

नेपालखोज २०७९ पुष १७ गते १७:३६

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा हेर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आज भोलिदेखि नै अक्षयकोष स्थापना गर्न व्यक्तिगत तर्फबाट दुई लाख रुपैयाँ सहयोगको घोषणा गरे ।

अध्यक्ष ओलीले भने, ‘अक्षय कोष स्थापना गर्ने कुरामा समय पर्खनुभयो भने, राम्रो समय पर्खदा–पर्खदा बुढो भइन्छ । म मेरो तलबबाट दुई लाख दिन्छु, काम थालिहाल्नुस् । सांसद छानिएको छु, मेरो पनि तलब आउँछ । सरकारले यस क्षेत्रमा हेर्दै नहेरेको होइन तर, हेर्नैपर्ने गरी जसरी राम्रोसँग हेरेन । खेलाडीको राम्ररी हेर भन्ने भनाइ म सरकारसँग पुर्याउँछु । अहिले खेलकुदमन्त्री छैन । मन्त्री जो भए पनि खेल क्षेत्रलाई सरकारले हेरोस् ।’

उनले खेलमार्फत सुन्दर, सक्षम, शान्तिपूर्ण एवं अनुशासित विकसित समाज बनाउने एकेडेमीको प्रयासको प्रशंसा गर्दै व्यवहारिक जीवनदेखि खेलकुद र राजनीतिमा फउल खेल्न नहुने तर्क गरे । सबै खेलको आ-आफ्नो नियम हुने बताउदै त्यसले नियम र अनुशासनको पालना गर्दै सफल हुन सिकाउने बताए ।

प्रतिक्रिया