शुक्रबार, असार २०, २०८२

जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

नेपालखोज २०७९ पुष १८ गते १२:०३

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न पनि निर्देशन दिए ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन, नागरिकका समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव सहित गर्न निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । उनले क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्यांकनको दीर्घकालीन प्रभावबारे विचार गर्न पनि सीडीओहरुलाई निर्देशन दिएका थिए ।

जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन र विवेकपूर्ण निर्णय गरेर पीडितलाई न्याय दिन उनले निर्देशन दिएका थिए ।

प्रतिक्रिया