बिहीबार, असोज २४, २०८१

आर्थिक मोर्चामा यो वर्ष विश्वका लागि सहज नहुने

नेपालखोज २०७९ पुष १९ गते १२:०३

बिबिसी । पछिल्ला केही समयदेखि विश्वमा आर्थिक मन्दीको आशंका व्यक्त भैरहेको परिपेक्षमा अहिले आईएमएफले समेत यो वर्ष विश्व अर्थतन्त्रको एक तिहाइ आर्थिक मन्दीको चपेटामा पर्न सक्ने बताएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन तथा चीनको अर्थतन्त्र सुस्त हुँदै गएको हुनाले सन् २०२३ गत वर्षभन्दा कठिन हुने बताएकि छिन् ।

युक्रेन युद्ध, सबै वस्तुको बढ्दो मूल्य, उच्च ब्याजदर र चीनमा बढ्दो कोभिड संक्रमणका कारण विश्व अर्थतन्त्र माथिको दबाब अझ बढदै गएको छ । अक्टोबरमा, आईएमएफले २०२३ का लागि विश्व अर्थतन्त्रको वृद्धि प्रक्षेपण प्रस्तुत ग¥यो । सीबीएसको समाचार कार्यक्रम ’फेस द नेसन’ मा जर्जिएभाले भनेकि छिन, “हामीलाई लाग्छ कि विश्वको एक तिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्छ ।“

उनका अनुसार, ‘मन्दी नभएको देशमा पनि करोडौं मानिसले मन्दी जस्तो महसुस गर्नेछन् । सिड्नीमा अर्थशास्त्री क्याट्रिना एलले विश्व अर्थतन्त्र प्रतिको आफ्नो मूल्याङ्कन प्रस्तुत गर्दै भनेकि छिन, ‘हाम्रो आधाररेखा अनुसार अर्को वर्ष मन्दी नआए पनि कतिपय कुरामा असाधारण रूपमा समस्या आउनेछ । युरोप मन्दीबाट बच्न सक्दैन र अमेरिका पनि त्यसतर्फ अघि बढिरहेको छ ।

मुद्रास्फीति र विश्व अर्थतन्त्रमा चीनको कोभिडको प्रभाव ः आईएमएफले अक्टोबरमा विश्वव्यापी वृद्धिको प्रक्षेपण घटाएको थियो । युक्रेनमा चलिरहेको युद्ध तथा उच्च ब्याजदरका कारण यस्तो भएको हो । वास्तवमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन थालेका थिए । त्यही भएर यस्तो अवस्था सिर्जना भएको हो ।

यसबीच, चीनले देशमा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणका बाबजुद शून्य–कोविड नीति समाप्त गरी आफ्नो अर्थतन्त्र पुनः खोलेको छ । जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि २०२३ को सुरुवात कठिन हुने चेतावनी दिएकि छिन् । उनले भनेकि छिन, ‘आगामी केही महिना चीनका लागि कठिन हुनेछ । यसले चीनमा नकारात्मक असर पार्नेछ । त्यसैले चिनको नकारात्मकता यो सम्पूर्ण क्षेत्रमा देखिनेछ । यसले विश्वव्यापी वृद्धिमा पनि नकारात्मक असर पार्नेछ ।

आईएमएफ १९० सदस्य राष्ट्रको संगठन हो । विश्व अर्थतन्त्रमा स्थायित्व ल्याउन यी सबै देश मिलेर काम गर्छन् । यसको मुख्य भूमिका मध्ये एक अर्थतन्त्रमा आइपर्ने समस्याहरूका बारेमा प्रारम्भिक चेतावनी प्रदान गर्नु हो । जर्जिएभाको टिप्पणी एसियाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि चेतावनी हो । गएको वर्ष एसियाली अर्थतन्त्रका लागि कठिन रह्यो । विश्वका साथै एशियामा मुद्रास्फीति तीव्र गतिमा बढिरहेको छ । यसमा प्रमुख भूमिका युक्रेनमा जारी युद्धले खेलेको छ । उच्च ब्याजदरले सर्वसाधारण एवं व्यवसायी दुवैलाई समस्यामा पारेको छ ।

’विश्वको कारखाना’ चीनमा उत्पादन गतिविधि सुस्त : गत साताको अन्त्यमा जारी गरिएको तथ्यांकले सन् २०२२ को अन्त्यमा चिनियाँ अर्थतन्त्रमा कमजोरी देखाएको छ । डिसेम्बरमा जारी गरिएको चीनको आधिकारिक पीएमआई (पर्चेजिङ म्यानेजर्स इन्डेक्स) अनुसार लगातार तेस्रो महिना देशमा उत्पादन गतिविधिमा कमी आएको छ ।

यो पछिल्लो तीन वर्षयताकै तीव्र गिरावटको दर हो । कोरोना भाइरसको संक्रमणका कारण चिनका कारखानाहरुको उत्पादन प्रभावित भएको छ । चीनको सबैभन्दा ठूलो स्वतन्त्र सम्पत्ति अनुसन्धान फर्म चाइना इन्डेक्स एकेडेमीले २०२२ को डिसेम्बरमा जारी गरेको तथ्याङ्कअनुसार चिनका १०० सहरमा घरको मूल्य लगातार छैटौं महिना पनि घटेको छ । चिनियाँ राष्ट्रपतिले शून्य कोभिड नीति खारेज गरेपछि पहिलो सार्वजनिक वक्तव्य दिदै चीनलाई संकटबाट निकाल्न जनतालाई थप प्रयास गर्न र एकता कायम राख्न आग्रह गरे । उनले चीन ‘नयाँ युग’मा प्रवेश गरिरहेकोले त्यसो गर्न आवश्यक रहेको बताए । अमेरिकामा मन्दी आयो भने त्यसको प्रत्यक्ष असर चीनमा पर्नेछ । किनभने अमेरिकामा चीन, थाइल्याण्ड र भियतनाममा बनाइएका सामानको मागमा कमी आउने छ ।

महँगो ऋणले कति समस्या ल्याउनेछ ?
पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन् । उच्च ब्याजदरका कारण कर्जा महँगो हुन्छ । त्यसैले उद्योगहरूले आफ्नो विस्तारका लागि लगानी घटाउन सक्छन् । आर्थिक विकासको सम्भावना नहुँदा लगानीकर्ताले अर्थतन्त्रबाट पैसा झिक्न सक्छन् । त्यसकारण धेरै देश विशेष गरी गरिब देशहरूमा आवश्यक खाद्यान्न र ऊर्जा आयात का लागि नगदको अभाव हुन सक्छ ।

यस्तो सुस्तताका कारण कमजोर अर्थतन्त्रको मुद्राको मूल्य बलियो अर्थतन्त्रको मुद्राको तुलनामा अझ घट्छ । यसले उनीहरुको समस्या थप बढ्न सक्छ । ब्याजदर वृद्धिको असर सरकारमा पनि पर्छ । अहिले विशेषगरी उदीयमान अर्थतन्त्र भएका देशहरूको समस्या बढ्दै गएको छ । बढ्दो ब्याजदरले यी देशमा समस्या निम्त्याउँछ किनभने तिनीहरूले आफ्नो ऋणमा बढी ब्याज तिर्नुपर्छ ।

पछिल्ला केही दशकदेखि एसिया प्रशान्त क्षेत्रका देशहरू चीनमा निर्भर छन् । चीन उनीहरूको प्रमुख व्यापार साझेदार हो। उनले संकटका बेला चीनबाट आर्थिक सहयोग पनि पाएका छन् । चीनले अहिलेसम्म जसरी कोरोनाको सामना गरेको छ, त्यसले एसियाली देशहरूको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । यद्यपि, चीनमा शून्य कोविड नीति समाप्त भएपछि टेस्ला इलेक्ट्रिक कार तथा एप्पलका फोनको बिक्री ट्रयाकमा फर्कन सक्छ भने कच्चा तेल र फलाम जस्ता वस्तुको माग बढेपछि तिनको मूल्य बढे सँगै मुद्रास्फीति बढ्न सक्छ । पछिल्लो समय यस्तो संकेत देखिएको छ ।

अब के हुने हो ?
एल भन्छिन्, “चीनले कोभिड प्रतिबन्धलाई सहज बनाउनु अर्थतन्त्रका लागि जादुई उपचार होइन ।“ भविष्यमा अर्थतन्त्रमा हुने परिवर्तनको बाटो बाधकले भरिपूर्ण हुन सक्छ । यही मार्चसम्म अर्थतन्त्रमा उतारचढावको स्थिति देखापर्न सक्छ ।’’ शार्ड क्यापिटलका रणनीतिकार तथा वैकल्पिक सम्पत्तिका प्रमुख बिल ब्लेन भन्छन् – आईएमएफको चेतावनी होसियार हुन राम्रो सल्लाह हो । यो चेतावनीले तपाईलाई के हुन सक्छ भनेर बाटो देखाउन सक्छ ।

ब्लेनले भनेका छन “विश्वभरका श्रम बजारले अर्थतन्त्र बलियो देखाएको हुन सक्छ, तर जुन प्रकारका रोजगारीहरू सिर्जना भैरहेका छन् त्यसमा धेरै आषा गर्नसकिने ठाउँ छैन । यससँगै हामी मन्दीतर्फ अघि बढिरहेका छौं । बजारले ब्याजदर घट्ने अपेक्षा गरेअनुसार यो घट्ने छैन । यहि अवस्थाका कारण अर्थतन्त्रमा एकपछि अर्को समस्या सृजना हुन सक्छन । कम्तिमा २०२३ को पहिलो आधा सम्म विश्व अर्थव्यवस्था संकटमा रहनेछ

प्रतिक्रिया