पेलेको नाममा रंगशाला र मौनधारण
काठमाडौँ । आज विश्व फुटबलका महान् खेलाडी पेलेको अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको भिला बेलमेरो रंगशालामा राखिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेपछि फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउँदै फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गरेका छन् । यस अघि फिफाले एक साता सम्म हुने फुटबल खेल अघि पेले प्रती श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेको थियो ।
सन् १९४० मा जन्मिएका पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । सान्तोषको सोही मैदानमा पेलेले उत्कृष्ट समय व्यथित गरेका थिए । यस्तै उनले ब्राजिललाई तीन पटक (१९५८, १९६२ र १९७०) विश्वकप उपाधि दिलाएका थिए ।
उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । आज २४ घन्टाको श्रद्धाञ्जलीपछि पेलेको अन्तिम संस्कार गरिनेछ ।
प्रतिक्रिया