हिजाब बिना खेल्ने चेस खेलाडीलाई धम्कि
नेपालखोज
२०७९ पुष २० गते १२:२७
काठमाडौं । इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै स्वदेश फर्काउने धम्की आएको छ । समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । साराले गत साता कजाकिस्तानमा भएको विश्व र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब नलगाई भाग लिएकि थिइन् भने इरानमा महिलाले हिजाब लगाउन अनिवार्य छ।
स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएका थिए जसमा उनलाई स्वदेश फर्किन चेतावनी दिइएको थियो । कतिपयले उनले इरान फर्किएर ‘आफ्ना समस्या समाधान’ गर्नुपर्छ भनेका छन ।
इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको छ । इरानको विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । सारा हिजो मंगलबार स्पेन पुगेकी छिन् । उनले यस विषयमा केही भन्न अस्वीकार गरेका छिन् ।
सम्बन्धित
प्रतिक्रिया