सोमबार, असोज २८, २०८१

विश्वका सबैभन्दा चिसा ठाउँ

नेपालखोज २०७९ पुष २० गते १५:१७

काठमाडाैं । पहाड होस वा मधेस अहिलेका दिन चिसोको चपेटामा परेका छन् । हड्डी नै कमाउने चिसोबाट बच्न मानिसहरु आगो र हिटरको सहारा लिइरहेका छन् । यद्यपि विश्वमा यस्ता धेरै ठाउँहरू छन् जहाँ गर्मीमा पनि हाम्रो जाडो दिनको तापक्रमभन्दा कम तापक्रम रहन्छ। रुसको साइबेरियामा जाडो मौसममा तापक्रम माइनस ७० डिग्री सेल्सियसभन्दा तल जान्छ।

हेरौं अन्टार्कटिकादेखि साइबेरियासम्मका विश्वका १० सबैभन्दा चिसा ठाउँ :

पूर्वी अन्टार्कटिक पठार, अन्टार्कटिका : अन्टार्कटिकाको पूर्वी अन्टार्कटिक पठार संसारको सबैभन्दा चिसो ठाउँ हो । २००४ र २०१६ मा डोम अर्गस र डोम फुजीमा हावाको तापक्रम माइनस ९४ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो। त्यहाँको चिसोको यो तथ्यांक उपग्रहबाट लिइएको हो । यो क्षेत्र अष्ट्रेलिया जत्तिकै ठूलो छ। यहाँ मानिस बस्दैनन् ।

भोस्टोक स्टेशन, अन्टार्कटिका : अन्टार्कटिकाको भोस्टोक स्टेशन क्षेत्र संसारको दोस्रो सबैभन्दा चिसो ठाउँ हो। जुलाई १९८३ मा त्यहाँको न्यूनतम तापक्रम माइनस ८९.२ डिग्री सेल्सियस थियो। यो दक्षिण ध्रुवको भाग हो। यो दक्षिणी गोलार्धको सबैभन्दा चिसो क्षेत्र हो। १९५७ मा सोभियत संघले भोस्टोक अनुसन्धान केन्द्र स्थापना गर्यो। यो संसारको सबैभन्दा सुख्खा क्षेत्र पनि हो। यहाँ वर्षमा २० मिलिमिटर हिउँ पर्छ ।

अमुन्डसेन-स्कट स्टेशन, अन्टार्कटिका : अमुन्डसेन-स्कट स्टेशन अन्टार्कटिकामा छ । यो क्षेत्र दक्षिण ध्रुवमा पर्छ । यो स्टेशन १९५६ मा स्थापना गरिएको थियो । यहाँ गर्मीमा छ महिनासम्म लगातार घाम लाग्छ भने छ महिनासम्म सूर्यको दर्शन गर्न पाइँदैन। जुन १९८२ मा यहाँको न्यूनतम तापक्रम माइनस ८२.८ डिग्री थियो । २०११ को क्रिसमसमा यहाँको अधिकतम तापक्रम माइनस १२.३ डिग्री सेल्सियस थियो।

डेनाली, अलास्का, अमेरिका : अमेरिकाको अलास्काको डेनालीमा सन् १९५० र १९६९ मा तापक्रम माइनस ७३ डिग्री सेल्सियसमा झरेको थियो। यो उत्तरी अमेरिकाको सबैभन्दा अग्लो क्षेत्र हो । यसको उचाई समुद्र सतह भन्दा ६ हजार मिटर भन्दा बढी छ । यहाँको औसत तापमान माइनस १० डिग्री सेल्सियस रहन्छ ।

क्लिंक स्टेशन, ग्रीनल्याण्ड : द क्लिंक वेदर स्टेशनले आर्कटिक सर्कलको सबैभन्दा चिसो ठाउँ भएको रेकर्ड राख्छ । यो केन्द्रीय ग्रीनल्याण्डमा अवस्थित छ। डिसेम्बर १९९१ मा यहाँको तापक्रम माइनस ६९.६ डिग्री सेल्सियस पुगेको थियो । यस्तो चिसो तापक्रमका बावजुद ग्रीनल्याण्डको बरफ द्रुत रूपमा पग्लिरहेको छ।

ओम्याकोन, साइबेरिया, रूस : ओम्याकोन संसारको सबैभन्दा चिसो ठाउँ हो जहाँ मानिस स्थायी रूपमा बस्छन् । यो आर्कटिक सर्कलको चिसो उत्तरी ध्रुव क्षेत्रमा अवस्थित छ। यहाँ १९३३ मा रेकर्ड गरिएको सबैभन्दा चिसो तापमान माइनस ६७.७ डिग्री सेल्सियस थियो । तापक्रम माइनस ५५ डिग्री सेल्सियसभन्दा बढि भए मात्र यहाँका विद्यालयहरू बन्द हुन्छन् । यहाँ जाडोमा औसत न्यूनतम तापक्रम – ५५ डिग्री सेल्सियस हुन्छ।

नर्थ आइस , ग्रीनल्याण्ड : नर्थ आइस ग्रीनल्याण्डको दोस्रो सबैभन्दा चिसो ठाउँ हो । सन् १९५० को दशकमा ब्रिटिश उत्तरी ग्रीनल्याण्ड अभियानका क्रममा यहाँ एउटा अनुसन्धान स्टेशन स्थापना गरिएको थियो। सन् १९५४ मा यहाँको न्यूनतम तापक्रम माइनस ६६.१ डिग्री सेल्सियसमा झरेको थियो । अहिले यहाँ मानिसहरु बस्न थालेका छन् ।

याकुत्स्क, साइबेरिया, रूस : याकुत्स्क पृथ्वीको सबैभन्दा चिसो सहर मध्ये एक हो र यो पर्माफ्रोस्टमा अवस्थित छ। यद्यपि यो क्षेत्रले केही छोटो तर तातो गर्मीको अनुभव गर्दछ। यहाँको तापक्रम २०११ मा ३८.४ डिग्री सेल्सियस सम्म पुग्यो । यद्यपि यहाँ लामो र अत्यधिक जाडो पनि हुन्छ । १८९१ मा यहाँको तापमान माइनस ६४.४ डिग्री सेल्सियसमा झरेको थियो । लेना नदीको छेउमा अवस्थित यो ठाउँमा जाडो महिनामा यति धेरै चिसो हुन्छ कि नदीको पानी पनि जम्छ र त्यो सडकका रूपमा प्रयोग गर्न सकिने गरि पर्याप्त बलियो वा ठोस हुन्छ।

स्नेग, युकोन क्षेत्र, क्यानाडा : स्नेग उत्तरपश्चिमी क्यानाडाको युकोन क्षेत्रको एउटा सानो गाउँ हो। यहाँ पहिले १० जना मानिस बसोबास गर्थे । दोस्रो विश्वयुद्धको समयमा यहाँ मौसम स्टेशन निर्माण गरिएको थियो । त्यो मौसम स्टेशन विश्वयुद्ध पछि पनि प्रयोग भयो । सन् १९४७ मा त्यहाँको न्यूनतम तापक्रम माइनस ६२.८ डिग्री सेल्सियसमा झरेको थियो।

प्रोस्पेक्ट क्रीक, अलास्का, संयुक्त राज्य अमेरिका : अलास्का, संयुक्त राज्य अमेरिकामा अवस्थित प्रोस्पेक्ट क्रीक, संसारको १० औं सबैभन्दा चिसो ठाउँ हो। सन् १९७१ मा यहाँको तापक्रम माइनस ६२.१ डिग्री सेल्सियस थियो । यो ठाउँमा १९७० को दशकको अन्तमा ट्रान्स-अलास्का पाइपलाइन प्रणालीका लागि काम गर्ने कामदारहरूको बस्ती थियो । अहिले भने यहाँ कोहि पनि मानिस बस्दैनन ।

प्रतिक्रिया