शीतलहर र चिसोले जनजीवन प्रभावित, सवारी साधन चलाउन कठिनाइ
काठमाडाैं । दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ ।
बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।
रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका बिरामी ह्वात्तै बढेका नारायाणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । ‘अस्पताल आउनेमा वृद्धवृद्धा तथा बालबालिका बढी छन्’, उनले भने । उनले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिए । चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।
प्रतिक्रिया