शुक्रबार, जेठ ४, २०८१

ति अज्ञानीहरू, जो काँग्रेसका बारे चिन्ता गर्छन् !

जय प्रकाश 'आनन्द' २०७९ पुष २३ गते ६:४९

पुरानो काँग्रेसको कुरा नगरौं । त्यो अब फर्किन्न् । पछिल्लो काँग्रेसमा ‘सत्ता’ शब्द मात्रले सदैव दुईटा अन्तःप्रेरणा दिदै आएको छ । पहिलो काँग्रेस भित्र गुटको निर्माण गरि त्यससँग टाँसिएर रहने । दोस्रो, पार्टी संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जनअपेक्षाहरूको अनदेखा गरि यथास्थितिको निरन्तरता एवं पक्षपोषण गर्नु । ‘सत्ता’ शब्दले यो दुई अभिप्रेरणा हालको काँग्रेसलाई दिएको छ ।

अहिले काँग्रेसको हातबाट सत्ता टाढिएको छ । काँग्रेसका धेरै शुभचिन्तकहरू हाल दुःखी जस्तो देखिन्छन् । तर तिनीहरू दुःखी रहन्नन् । भर्खरै डाकिएको काँग्रेसको केन्द्रीय समितिको अलांकारिक बैठकमा सबैले मनको बह (पेट दुःखेर मुखमा पानी आई रहने एक प्रकारको रोग) पोख्छन् । बैठक अवधिभर शेरबहादुर देउवा घरीघरी चश्मा निकाल्दै सिसा सफा गर्छन, घरी औलाको औठी अर्को हातको औलाबाट नचाउँने छन् । पट्यारलाग्दो कुराहरू तथा सुन्न न चाहेको आलोचना सुन्नै पर्दा यो तरिका उपनाउनुमा उनलाई धैर्यता मिल्दछ । यस्तै समअवस्थामा गणेशमान जी कुर्सीमा बसीबसी निदाउनु हुन्थ्यो । गिरिजा बाबु कुरा सुने जस्तो गर्दै अरू कुरा सोच्नु हुन्थ्यो, फुईफुई चुरोट तान्नु हुन्थ्यो–बोल्नेलाई लाग्द्थ्यो कि मेरा कुरा बडो धैर्यका साथ सुन्नुभयो । मनलाई शान्तिको बाटोमा डो¥याउने यस्ता कलाहरू देउवा जीलाई थाहा छ । केन्द्रीय बैठकमा जिब्रो पडकाउदै, आँखी भौंलाई तलमाथी पार्दै बोल्ने सदस्यहरू हलुका हुनेछन् ।

अन्तमा, शेरबहादुर जी पालैपालो गरी सबै तिर हेर्दै भन्नु हुनेछ–“धैर्य राख, गत संसदमा हामी आजको भन्दापनि थोरै संख्यामा थियौं । तर, के काँग्रेसको नेतृत्वमा सरकार बनेन ? माओवादीले समर्थन मात्र गरेको थिएन, एमाले–माओवादीको एउटै पार्टी थियो । केपी ओली प्रधानमन्त्री थिए । लगभग सबै प्रदेशहरूमा उनीहरू कै बहुमत थियो, उनीहरुकै मुख्यमन्त्री थिए । तर बदलियो त सबै, केपी हटे, प्रदेशहरूमा मुख्यमन्त्री, प्रदेश प्रमुखहरू बदलिए । फेरी पनि तेही हुन्छ । बुझ्नु भो।” देउवाले यति भन्नासाथ काँग्रेसजनमा अनौठो ‘आत्ममुग्घता’ देखापर्छ । बैठक सकिन्छ । काँग्रेस पुनः सत्ताको संभावना र ‘उलाद्दीन’ का चिराग राखेका नेता शेरबहादुर प्रति भावविभोर हुन्छन् ।

हुन त हो, हालैको चुनावले बनाएको अस्थिर संसदमा आजको काँग्रेसले आफ्नो फलिफाप देख्ने अझ् धेरै ठाउँ छ । कतिखेर ओलीको आँखा झिम्क्याई बुझेर प्रचण्ड शेरबहादुरकोमा पुग्छन्, उपेन्द्रहरू कतिखेर कसको इसारामा तम्बु परिवर्तन गर्छन कसलाई थाहा छ र? यो खेल त हुदै आएको हो ।

यसैले गर्दा मैले भनेको हुँ कि काँग्रेस चिन्ता मान्दैन, शेरबहादुरको सानिध्यता पाएका कुनै काँग्रेसी चिन्तित हुन्नन् । उनीहरू फेरीपनि काँग्रेस भित्र गुटको निर्माण तथा संवद्र्धन गरी त्यससँग टाँसिएर रहन्छन् । उनीहरू पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जन अपेक्षाहरूको अनदेखा गरि यथास्थितिलाई अविच्छिन्न निरन्तरता दिन्छन्, पक्षपोषण गर्छन् । शेरबहादुर जीले देखाई दिने ‘सत्ता’ को संभावनाले काँग्रेस अभिप्रेरित हुन्छन् । त्यसमा शेखर जी पनि खुशी हुनेछन् र पो त भन्नु भएको हो–“काँग्रेसको हातबाट सत्ता गएको हो, काँग्रेस कमजोर भएको होईन ।” पढनु भयो होला नि उहाँको वक्तव्य !

काँग्रेस फेरी यसैमा मस्त रहन्छ, आशावादी रहन्छ ।

प्रतिक्रिया