नेपालमा विमानस्थलको अवस्था कस्तो छ ?
काठमाडाैं । नेपालमा हाल ५३ वटा विमानस्थल छन् भने अर्घाखाँची र कालिकोटमा नयाँ विमानस्थल निर्माण भइरहेका छन् । देशका यी विमानस्थलमध्ये सबैमा उडान भने सुचारु छैन् । अहिले नेपालका ५३ वटा विमानस्थल मध्ये ३३ वटा विमानस्थलमा मात्र नियमित उडान भइरहेको छ । बाँकी २० वटा विमानस्थलबाट उडान सञ्चालन नभएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
यसरी हवाई उडान नहुने २० वटा विमानस्थलमा लाङटाङ , लामिडाँडा , रुम्जाटार , स्याङ्बोचे , मनाङ, मेघौली, बाग्लुङ, ढोरपाटन, चौरजहारी (रुकुम), दार्चुला, टीकापुर , पालुङटार , जिरी , डोल्पा , रोल्पा , कमल बजार, कागेलडाँडा, चण्डेश्वरी तथा महेन्द्रनगर विमानस्थल छन् । देशमा निर्माण भएका कुल ५३ विमानस्थलमध्ये ४० वटा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेको छ भने बाँकी १३ विमानस्थलको धावनमार्ग कच्ची छ । सञ्चालनमा रहेका विमानस्थलमा नौवटा अन्तरिक वायुसेवाले नियमित उडान सेवा दिँदै आएका छन् । विराटनगरलाई हब बनाएर पूर्वका पहाडी तथा हिमाली क्षेत्र र नेपालगन्जलाई हब बनाएर कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा उडान भइरहेको छ ।
पोखराबाट अहिले नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरलगायत जिल्लामा प्रादेशिक उडान भइरहेको छ । यस्तै, नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल छन जहाँ १६ देशबाट २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान भर्दै आएका छन् । पोखरामा १७ पुसमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ, जहाँ अहिले आन्तरिक उडान भइरहेका छन् । पुरानो विमानस्थलमा हेलिकोप्टर र अल्ट्रालाइट मात्र सञ्चालनमा छ । यस्तै, गएको २ जेठमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेपनि यात्रुको अभावमा ती उडान बन्द गरिएका छन र उक्त अन्तर्राष्ट्रिय विमानस्थल प्रयोजन बिहिन भएको छ ।
देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति उडान सुरु भएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए), विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा अहिले रात्रिकालीन उडान भैरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा र राति उडान सुविधा भएका आन्तरिक विमानस्थल १८ घन्टासम्म खुला रहने व्यवस्था गरेको छ । राति उडान गर्न मिल्ने सुविधा भएका नौमध्ये सातवटा विमानस्थल तराई क्षेत्रमा सञ्चालनमा रहेका छन् । यी विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान भइरहेका छन् । यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा खुला गरिएको छ । जसले काठमाडौंमा भइरहेको बढ्दो हवाई चाप कम गर्न सहयोग पुगेको छ ।
प्रतिक्रिया