शुक्रबार, असोज २५, २०८१

पुरुष हक्की विश्वकपका प्रमुख दाबेदार

नेपालखोज २०७९ पुष २६ गते ९:१९

पुरुष हक्की विश्वकपको १५ औं संस्करण पुस २९ गते शुक्रबार (जनवरी १३ ) मा सुरु हुनेछ । यो प्रतियोगिताको उदघाटन खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि अर्जेन्टिना र दक्षिण अफ्रिका यसपटकको पुरुष हक्की विश्वकपको प्रमुख दाबेदार होइनन् । यसपटक धेरै बलिया दावेदार अरु नै मानिएका छन् जसले यस पटक उपाधि जित्न सक्छन् । बेल्जियम पछिल्लो पटक हक्की विश्वकप जित्ने छैटौं पुरुष टिम हो जो यसपटक पनि एउटा प्रमुख दावेदार हो । हेरौं, यसपटकका ती देश जसले उपाधि जित्न सक्छन् ?

जर्मनी : जर्मनी अरुको तुलनामा बढि अनुभवी टिम हो । हालको प्रो लिगमा उनीहरु तेस्रो स्थानमा छन् । पछिल्लो पटक जर्मनी चौथो स्थानमा थियो । जर्मनीले टोकियो ओलम्पिकमा भारतसँग कास्य पदक हारेको थियो भने २०१८ माक्वार्टरफाइनल हारेर पाँचौं स्थानमा थियो । जर्मनीसँग महत्त्वपूर्ण उपलब्धिहरूका साथ हक्कीको एउटा समृद्ध इतिहास छ । जर्मनी अहिले मुख्य प्रशिक्षक एरिक ल्याङ्गनरको नेतृत्वमा तेस्रो पटक विश्वकप हक्कीको ट्रफी जित्ने दाउमा छ । जर्मनीले यस अघि २००२ तथा २००६ मा उपाधि जितेको थियो । जर्मनी सँग क्रिस्टोफर रुहर जस्ता खेलाडीहरू छन् जो उत्कृष्ट हक्की खेल्छन ।

भारत : भारत जस्तो हक्की इतिहासको धनी देशले एक पटक मात्र पुरुष हक्कीको विश्वकप जितेको छ । भारत अन्तिम पटक शीर्ष पाँचमा पुगेको पनि १९९४ मा हो । सन् १९७५ मा भारतले एकमात्र उपाधि जिते पनि त्यस पछि उसको स्तर खस्किएको छ । प्रशिक्षक ग्राहम रीडको नेतृत्वमा भारतलेले हालैका दिनमा केही राम्रा प्रदर्शन गरेको छ, जसमा एशिया कपको कांस्य, टोकियो ओलम्पिकको कांस्य, बर्मिंघम राष्ट्रमण्डल खेलको रजत तथा प्रो लिगको तेस्रो स्थान सामेल छन् । भारतले आयोजना गर्ने यो लगातार दोस्रो हक्की विश्वकप हुनेछ र भारतका लागि पछिल्लो सफलताले आशा बढाएको छ। भारतको यसपटक आफ्नो गृह मैदानमा हक्किमा आफ्नो ४७ वर्ष पुरानो विश्वकप पदकको खडेरी अन्त्य गर्न चाहन्छ ।

नेदरल्याण्ड्स : नेदरल्याण्ड्सले आफ्नो इतिहासमा तीन पटक पुरुष हक्की विश्वकप जितेको भए पनि २१ औँ शताब्दीमा भने कुनै उपाधि जित्न सकेको छैन। नेदरल्याण्ड्स उपाधिको सबैभन्दा नजिक आएको गत संस्करणको फाइनलमा बेल्जियम विरुद्ध हो । नेदरल्याण्ड्स पछिल्ला दुई विश्वकपमा उपविजेता भएको थियो । नेदरल्याण्ड्सको पुरुष हक्कीको कथा पनि उनीहरूको फुटबलको जस्तै अभागि छ । नेदरल्याण्ड्स सँग हक्कि र फुटबलको विश्वकप इतिहासमा सबैभन्दा धेरै फाइनल हारेको कीर्तिमान छ । मुख्य प्रशिक्षक जेरोन डेल्मीको नेतृत्वमा यस पटक पनि नेदरल्याण्ड्स शीर्ष दावेदार हो ।

बेल्जियम : हर्ट्जबर्गरले पेनाल्टी मिस गर्दा बेल्जियम गएको विश्वकप हकीको च्याम्पियन भएको थियो । बेल्जियम त्यतिबेला यो उपाधिको वास्तविक दावेदार थिएन। त्यसपछि उसले आफ्नो खेलको दायरा बढाएको छ र बेल्जियम हालको डिफेन्डिङ ओलम्पिक च्याम्पियन पनि हो ।

अस्ट्रेलिया : वर्तमानमा एफआइएचको शीर्ष वरीयता प्राप्त अष्ट्रेलिया यो प्रतियोगिताको सबैभन्दा कडा दावेदार हो । तीन पटकको च्याम्पियन अस्ट्रेलियाले ४८ वर्षदेखि विश्वकपमा उत्कृष्ट जित र गोल गर्ने कीर्तिमान राख्दै आएको छ । अष्ट्रेलियाले खेलेका ९२ खेलमध्ये ६९ मा अर्थात ७५ प्रतिशत जित निकालेको छ । अस्ट्रेलियाको प्रति खेल ३.३१ गोल औसतले उसलाई गोल स्कोरिङ चार्टको शीर्षमा पुर्याएको छ ।

अस्ट्रेलियाले सन् १९८६ मा आफ्नो पहिलो उपाधि जितेको थियो । त्यस पछि उसले २०१० र २०१४ मा पनि उपाधि चुम्यो । विश्वकप हक्कीमा अस्ट्रेलियाले चीन बिरुद्ध ११–० तथा इङ्ल्यान्ड बिरुद्ध ८–१ को प्रभावशाली जितहरू दर्ता गरेको छ । यसपटक दक्षिण भारतको भुवनेश्वरमा फेरि एकपटक भिड्दा अस्ट्रेलिया पुरुष हक्की विश्वकप ट्रफीमा ४ पटक कब्जा जमाउने पाकिस्तानसँग बराबरी गर्ने धुनमा छ ।

प्रतिक्रिया