आइतबार, असोज २०, २०८१

बाख्रापालनबाट मनग्गे आम्दानी

नेपालखोज २०७९ पुष २६ गते १५:०५

बझाङ । ‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै’ भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान छन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट ।

उनले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चार/पाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसक्नु भएको छ ।

उनले विभिन्न व्यवसाय सुरु गरे पनि कतैबाट सोचेजस्तो लाभ भएन । उनी भन्छन्, ‘मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालें तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आदानी दिएको छ । अहिले पनि महिनामै चार÷पाँच वटा बाख्रा बेचिन्छ ।’ निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनको भनाइ छ ।

बाख्रापालनबाट राम्रो फाइदा देखेका भरतबहादुर जङ्गली जनावरबाट भने आजित छन् । उनको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उनी बताउछन् । ‘बाख्रापालनबाट केही घाटा छैन,’ उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ ।’

उनले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पालेका छन् । उनी भन्छन्, ‘मेरा सम्पति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।’ भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गर्छन् । ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो,’ उनी भन्छन्,‘कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।’

पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् । वनभोजमा आउनेहरुले पनि उनीसँग खसी बोका किनेर लैजाने गरेको उनी बताउछन् । ‘यसै वर्षको मङ्सिर-पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,’ उनले भन्छन् । अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो,’ उनले भने, ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।’

त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै छैनन्, उनका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्छन् । पुँगरमा बस्दै आएका बलराम विष्ट भन्छन्, ‘पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।’ उनले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आउनुभएको छ । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ । -रासस

प्रतिक्रिया