सोमबार, असोज २८, २०८१

इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग लिभरपुलको लज्जास्पद हार

नेपालखोज २०७९ माघ १ गते ७:१४

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको लगातारको खराव प्रदर्शन जारी छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३-० को लज्जास्पद हार भोग्न बाध्य भएको छ । जारी सिजन लिभरपुलको यो छैटौं हार हो। उसले १८ खेलको समाप्तिमा केवल ८ खेलमा मात्र जित निकालेको छ । ४ खेल बराबरी खेलेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने लिभरपुल लगातार गोल खान पुगेको थियो । दोस्रो हाफको सुरुवातमानै ब्राइटनले सोलोमन मार्चको गोलबाट अग्रता लिएको थियो । मार्चले लगातार दुई गोल गरेका थिए । उनले ४६ औ मिनेटमा पहिलो गोल गर्दा ५३ औ मिनेटमा ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे। ब्राइटनलाई ३ गोलको अग्रता दिलाउने क्रममा ड्यानि वेल्वेकले ८१ औ मिनेटमा तेस्रो गोल गरेका थिए ।

जितसँगै ब्राइटनले लिभरपुललाई पछि पार्दै अङ्क तालिकाको ७ औ नम्बरमा उक्लिंदा लिभरपुल भने ८ औ नम्बरमा झरेको छ । एमेक्स स्टेडियममा लिभरपुल समर्थकलाई स्तब्ध बनाउन सुरुवातबाटै ब्राइटन निकै राम्रो लयमा देखिएको थियो । अन्तिममा उसले ४-० को मौका चुकाएको थियो ।

जितपछि अङ्क तालिकामा ब्राइटनको १८ खेलबाट ३० अङ्क भएको छ । ८ औ स्थानमा झरेको लिभरपुलको समान खेलबाट २८ अङ्क रहेको छ ।

प्रिमियर लिग अन्तर्गतनै शनिबार रातिनै भएका अन्य खेलमा लिगको पुछारमा रहेको साउथ हेम्टनले पुछारबाट दोस्रो स्थानमा रहेको एभर्टनलाई २-१ ले पराजित गर्दै समान १५ अङ्क बनाएको छ। त्यस्तै नोटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २-० ले पराजित गर्दा अर्को खेलमा वल्भेसले वेस्टह्यामलाई १-० ले पराजित गर्यो ।

प्रतिक्रिया