बुधबार, जेठ २, २०८१

बेलायतले युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर-२ ट्यांक’ उपलब्ध गराउने

नेपालखोज २०७९ माघ १ गते १९:४७

लण्डन । बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर-२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर-२ ट्याङ्क’ पठाइसकेको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शनिबार टेलिफोन गरी लण्डनले युक्रेनमा थप १२ वटा ‘च्यालेन्जर-२ ट्याङ्क’ पठाउने बताएका हुन् । ‘युक्रेनमा ‘च्यालेन्जर-२ ट्याङ्क’ पठाएको भनेको बेलायतको सहयोगमा वृद्धिको सुरुवात हो,’ प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपतिसँग टेलिफोनमार्फत् भनेका जेलेन्स्कीको सचिवालयले बताएको छ ।

आगामी हप्तासम्ममा स्थल सेनाले प्रयोग गर्ने १४ वटा ट्याङ्क युक्रेन पुग्नेछन् । बेलायतले करिब ३० वटा ठूला र स्वचालित बन्दूक (एएस-९०)पनि सहयोग गरेको छ । उक्त एक बन्दूकले सामान्य एक बन्दूक चलाउने करिब पाँच जनालाई प्रतिरक्षात्मक आक्रमण गर्न सक्ने बेलायत सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कीभलाई बेलायतले गरेको सहयोगबारे थप विवरण सोमबार सार्वजनिक गरिने बताइएको छ ।

गत डिसेम्बरमा रूसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले बताए अनुसार सन् २०२२ को फेब्रुअरीमा द्वन्द्व सुरु भएयता पश्चिमी मुलुकहरुले युक्रेनलाई ३५० भन्दा बढी ट्यांक, ७०० ठूला हतियार र १०० भन्दा बढी धेरै रकेट हान्नसक्ने क्षेप्यास्त्र उपलब्ध गराएको उनले बताएका थिए । गेरासिमोभका अनुसार युक्रेनलाई कुल १०० अर्ब अमेरिकी डलर बराबरको वैदेशिक आर्थिक सहयोग प्राप्त भएको छ । मस्कोले कीभलाई सैन्य सहायताको निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया