सोमबार, असोज २८, २०८१

‘विमान दुर्घटनामा मैले धर्मबुबा गुमाएँ’

नेपालखोज २०७९ माघ १ गते २१:५५

कास्की । पोखरा-२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी थिए । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै थिए ।

नेपालमा सुजनलाई धर्मछोरा बनाएका एलेक्जेण्डर छोरा भेट्न आतुर थिए भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिएका थिए । बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोडेका एलेक्जेण्डर सेती खोचमा बिलिन भएका छन् ।

यता, सुजन बुबा लिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि जहाज दुर्घटनाको खबरले विक्षिप्त हुँदै दुर्घटनास्थलतर्फ लागेका थिए। सेती खोँचबाट धुवाँको मुस्लो निस्कँदा नै उनको होसहवास उडेको थियो । पछि शवको सनाखत भएपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्ष प्राङ्गणमा झनै पीडामा छन् ।

उनीहरूको चिनजान भएको धेरै भएको छैन । एलेक्जेण्डर नेपाल आएको बेला बाटो बताउँदा भएको चिनजान धर्मबुबासम्म पुगेको सुजनले बताए । चिनजान भएदेखि नै आफ्नो हरेक सुखदुःखमा साथ दिने धर्मबुबा गुमाउनुपर्दा असह्य भएको उनले सुनाए । ‘हाम्रो चिनजान भएको धेरै भएको छैन । दुई वर्षअघि बाटो चिनाउँदा भेट भएको हो । त्यो बेला कुराकानी भएपछि उनले मलाई सहयोग गर्न थाले‘, सुजनले भने, ‘मेरो आफ्नै बुबा सानैदेखि म र ममीबाट टाढा थिए । त्यो कारण पनि उनीलाई भेटेपछि मैले धर्मबुबा मानेको थिएँ ।’

शनिबार मात्रै काठमाडौं झरेर आफूलाई भेट्नकै लागि पोखरा आएको सुजनले बताए । ‘उहाँ मलेसिया हुनुहुन्थ्यो शनिबार नेपाल आएपछि मलाई भेट्न पोखरा आउनुभएको थियो’, उनले भने, ‘मसँग हरेक क्षण म्यासेजमा बोल्नुहुन्थ्यो । अन्तिम पटक जहाज चढ्ने बेला बोलाएका थिए । उहाँले छिट्टै भेट हुन्छ यो पटक मिठाइ ल्याउन पाइन पनि भन्नुभएको थियो ।’

धर्मबुबा एलेक्जेण्डरको जहाज दुर्घटनामा निधन भएसँगै आफ्नो जिन्दगीले फरक रूप लिने उनले बताए । पढ्नदेखि मन परेको लुगा लगाउन, खानका लागि एलेक्जेण्डरले आर्थिक सहयोग गर्थे । ‘मलाई जहिले पनि सहयोग गर्थिए । पछिल्लो समय उहाँसँगै मलेसिया घुम्न जाने भनेर टिकट काटिदिनुभएको थियो । मेरो डकुमेण्ट नमिलेर जान पाइएन’, सुजनले भने, ‘भविष्यमा उहाँसँगै फ्रान्स जाने योजना थियो सबै चकनाचुर भयो ।’ कक्षा १२ को परीक्षा सकेर बस्नुभएका सुजनले धर्मबुबा एलेक्जेण्डरलाई भनेर कोडिङ र आई टी विषय बढ्ने योजना बनाए पनि धुवाँको मुस्लोसँगै सबै सपना उडेको बताए ।

प्रतिक्रिया