चीनको सैन्य प्रभाव रोक्न जापानले रणनीतिक साझेदारहरु विस्तार गर्दै
चीनको बढ्दो सैन्य प्रभावलाई रोक्नका लागि जापानका प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकासँग आफ्नो देशको सुरक्षा सम्बन्धलाई थप सुदृढ गर्दै अष्ट्रेलियादेखि युरोपसम्म प्रजातान्त्रिक गठबन्धनलाई विस्तार गर्ने प्रयास थालेका छन् ।
गत हप्ता सात देशहरूको समूह (जी सेभेन) को आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री किशिदाले दोस्रो विश्वयुद्ध पछि जापानको सुरक्षा नीतिको लागि गहन छलफल गरे । यो जापानको सुरक्षा रणनीतिमा आएको सबैभन्दा ठुलो परिमार्जन हो । किशिदाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई युरोप र इन्डो प्यासिफिकको सुरक्षा अविभाज्य भएको बताए भने उनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आपसी सेनाको साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरे । यसैगरी आफ्नो रक्षा सम्बन्धलाई विस्तार गर्न इटालीका नेता जर्जिया मेलोनीसँग सहमत जुटाए ।
वाशिंगटनसँग जापानको परम्परागत गठबन्धनलाई अझै बलियो बनाउन अमेरिकी राष्ट्रपति जो वाइडेनसँग प्रधानमन्त्री किशिदाको गत हप्ता ह्वाइट हाउसमा भएको छलफलले थप सबल रणनीतिलाई विस्तार गरेको बताइन्छ । तर, आफ्नो छिमेकमा रहेको सुरक्षा खतराहरूबारे जापानको गम्भिर असहजतालाई सामना गर्न अन्य प्रजातान्त्रिक साझेदारहरूसँग गठबन्धन निर्माण गर्न अमेरिकासँगको राणनीतिक साझेदारीले जापानलाई अफ्ट्यारो पारिरहेको छ ।
इन्डो प्यासिफिक डिफेन्स एन्ड स्ट्राटेजीका लागि सिंगापुरस्थित वरिष्ठ फेलो रहेका इयुन ग्राहमले भने – अमेरिकाको कम सहानुभूतिपूर्ण नीतिले जापानलाई अफ्ट्यारो पर्नसक्ने चिन्ता छ । उनले उदाहरण दिदैँ भने, ‘डोनाल्ड ट्रम्प राष्ट्रपति हुदाँ जापान–अमेरिकी गठबन्धनको निष्पक्षतामा बारम्बार प्रश्न उठाए । उनीहरू पूर्ण रूपमा अमेरिकामा भर पर्न सक्दैनन्’, ग्राहमले भने। त्यसैले जापान, क्यानडा र अन्य देशहरुसँग पनि रणनीतिक सम्बन्ध विस्तार गर्न चाहन्छ ।
युक्रेनमा रुसको आक्रमण, उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र क्षमता र ताइवान वरिपरि बढ्दो तनाव यी सबैले जापानलाई थप चिन्चित बनाएको छ । गत वर्ष किशिदा नेटो शिखर सम्मेलनमा भाग लिने पहिलो जापानी प्रधानमन्त्री बनेका थिए । छिमेकमा बढ्दो चिनियाँ सैन्य अभ्यासले गर्दा जापान यसरी सुरक्षा रणनीति विस्तारको पहलमा केन्द्रीत भएको हो ।
आफ्नो पाँच देशको भ्रमणको क्रममा किशिदाले जापानको रक्षा विस्तार र क्षेत्रीय सुरक्षा चिन्ताहरू व्याख्या गरे । यो भ्रमण संयुक्त राज्य अमेरिका र जापानको संयुक्त वक्तव्यको साथ समाप्त भयो । दुवै देशले आफ्नो राष्ट्रलाई सैन्य क्षमता बढाउन बाध्य बनाएकोमा दोष चीन र उत्तर कोरियालाई लगाए । ‘चीनसँगको सम्बन्धलाई व्यवस्थित गर्न जापान, अमेरिका र युरोपले एक भएर काम गर्नु एकदमै आवश्यक छ ।’ जापानी प्रधानमन्त्री किशिदाले शुक्रबार वाशिंटनको जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा दिएको भाषणमा भने ।
जापानका सहयोगी युरोपेली देशहरु चीनले विभिन्न क्षेत्रहरूमा, विशेष गरी दीर्घकालीन रूपमा निम्त्याउने बढ्दो सुरक्षा खतराप्रति सजग छन् । त्यसलाई सम्बोधन गर्न कदम चालिरहेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गत हप्ता किशिदालाई भेट्दा जापानसँग सहकार्य बढाउन सक्ने क्षेत्रको रूपमा सुरक्षालाई महत्व दिए । त्यस अवसरमा जापान र फ्रान्सले संयुक्त सैन्य अभ्यासको नयाँ चरणमा जाने चर्चा पनि गरे ।
जर्मनी र नेदरल्याण्डले पनि जापान, अमेरिका र बेलायतसँगै हालैका वर्षहरूमा दक्षिण चीन सागरमा पानीजहाज पठाएका छन् । त्यो पठाउनुको अर्थ त्यहाँ चीनको दावीको विरोध गर्नु र नेभिगेसनको स्वतन्त्रताको महत्वलाई जोड दिनु हो । उत्तर एट्लान्टिक सैन्य संगठन (नेटो) जसमा अमेरिका, क्यानडा र युरोपेली सदस्यहरू समावेश छन् । यसले पहिलो पटक २०२२ को रणनीतिक अवधारणामा चीनको उल्लेख गरेको छ । जापान र अष्ट्रेलिया जस्ता एशिया प्रसान्त क्षेत्रका प्रमुख साझेदारहरूले पनि भाग लिएको गत जुनमा सम्पन्न नेटो राष्ट्रहरुको शिखर सम्मेलनले चीनले प्रणालीगत चुनौती खडा गरेको र बेइजिङ र मस्को बीचको रणनीतिक साझेदारी बढेकोमा चेतावनी दिएको थियो ।
अटुट बन्धन
साझेदारहरूको फराकिलो दायरासँग संलग्न हुन जापानको उत्सुकता बढेको छ । गत वर्ष अमेरिकाको सट्टा बेलायत र इटालीसँग अर्को पुस्ताको लडाकु जेटमा काम गर्ने निर्णयमा जापान पुग्यो । गत वर्ष सार्वजनिक भएको जापानको कार्य योजनामा क्यानाडासँग सूचना र सुरक्षा सम्झौतामा वार्ता गर्न तयार भएको उल्लेख थियो । जसमा संयुक्त सैन्य अभ्यास र रक्षा आदानप्रदानहरू समावेश थिए ।
जापानको सुरक्षा रणनीतिको नयाँ खुलापनलाई लिएर लन्डनले विशेष उत्साहका साथ हेरेको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भने, ‘जापान एशियामा हाम्रो सबैभन्दा नजिकको सुरक्षा साझेदार हो र बेलायत युरोपमा जापानको सबैभन्दा नजिकको सुरक्षा साझेदार हो । हामी बीचको एक अटुट बन्धन छ ।’
बेलायतले आफ्नो वैदेशिक सम्बन्धमा इन्डो प्यासिफिक झुकाव बढाएको छ र आफ्नो रणनीतिक विदेशी मामिलाका लक्ष्यहरू अद्यावधिक गर्ने प्रक्रियामा छ । जापान आफ्नो छिमेकी फिलिपिन्ससँग रक्षा सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा पनि वार्ता गरिरहेको छ ।
ताइवान प्रश्न
जापान यी कुनै पनि साझेदारहरुलाई ताइवान मामिलामा र पूर्वी चीन सागरका टापुहरुको विषयमा सहयोग गर्न आउन बाध्य पार्दैन । अमेरिकासँगको रणनीतिक साझेदारी जस्तो कुनै बाचा जापानले अन्य रक्षा साझेदारहरुसँग गरेको पनि छैन ।
ताइवान वा पूर्वी चीन सागरका टापुहरुको आकस्मिक मामिलामा बेलायत र फ्रान्स इन्डो प्यासेफिक क्षेत्रमा आइहाल्ने आशा छैन, निगाता प्रिफेक्चर विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक क्योको हाताकेयामाले भन्नुभयो । उनले थपे, ‘जापानले खोजिरहेको प्रभाव भनेको प्रतिरोधका लागि मात्रै हो ।’
जापानको सुरक्षा रणनीतिले अष्ट्रेलियासँगको संलग्नता पछ्याइएको देखिन्छ । क्यानबेरासँग गत वर्ष जापानको रक्षा सम्झौता भएको थियो । जसमा दुई देशहरूले आफ्ना सेनाहरू बीचको अन्तरसञ्चालन क्षमता बढाउने वाचा गरेका थिए ।
‘अमेरिकाले अष्ट्रेलिया र अन्य देशहरूलाई ताइवानको आकस्मिक परिस्थितिमा केही हदसम्म सहयोगको प्रस्ताव गर्न सक्छ’, ग्राहमले भने । तर, जापानले अस्ट्रेलियालाई अर्ध सहयोगी भनेर पन्छाउनु भ्रामक हुनसक्ने चेतावनी पनि उनले दिए । अष्ट्रेलियन नेसनल युनिभर्सिटीको रणनीतिक र रक्षा अध्ययन केन्द्रका सहयोगी प्राध्यापक एमी किंगका अनुसार अस्ट्रेलिया र यूके जस्ता साझेदारहरूसँग जापानको सुरक्षा साझेदारीले एसिया प्यासिफिक क्षेत्रमा अमेरिकी शक्ति कम हुन सहयोग पुग्छ ।
हालसम्म, अमेरिकाको एशियामा सबैभन्दा ठूलो सैन्य उपस्थिति रहेको छ । जसले जापान लगायत आफ्ना सहयोगीहरूलाई सुरक्षा प्रदान गर्दै आएको छ । यद्यपि, अमेरिकी कन्जरभेटिभहरूको ‘अमेरिका फस्र्ट’ अवधारणाको वृद्धिले टोकियोलाई चिन्तित बनाएको छ । त्यसैले जापान सुरक्षा साझेदारहरुको विविधकरण तर्फ लागेको छ । उ अमेरिकाको भरमा मात्र रहन चाहदैँन ।
जापान टाइम्समा प्रकाशित विश्लेषणात्मक रिपोर्टमा आधारित
श्रोतः आइएनएस–स्वतन्त्र समाचार
प्रतिक्रिया