बुधबार, वैशाख १९, २०८१

चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए

नेपालखोज २०७९ माघ ७ गते १३:११

काठमाडाैं । गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् ।

सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती पत्रकारहरूमा १५ जना पत्रकार पञ्जाबका, ११ जना सिन्ध, १३ जना खैबर पख्तुनख्वा र तीन जना बलुचिस्तानका थिए । पत्रकारहरूलाई या त आतङ्ककारीहरूले गोली हानेर मारे या अन्य कतैबाट मारिए यकिन भने छैन ।

तथ्याङ्कअनुसार यस्ता घटनामा पञ्जाबमा सात संदिग्ध पक्राउ परेका थिए । जसमध्ये दुई हाल जमानतमा छन् । पक्राउ परेका अन्य सातमध्ये पाँचजना विरुद्ध मुद्दा चलिरहेको छ भने आठजना फरार छन् । एक जना अभियुक्तलाई भने अदालतले रिहा गरेको छ । सिन्धमा चार संदिग्ध पक्राउ परेका छन् भने सात जनामाथि मुद्दा चलिरहेको छ ।

यसैगरी केपीका दुई अभियुक्तले सफाइ पाएका छन् चारजना मुद्दा चलिरहेका छन् र एकजना फरार छन् । बलुचिस्तानमा दुई संदिग्धहरू फरार छन् । एकजना मुद्दाको सामना गर्दै छन् भने अर्का एक संदिग्धलाई सजाय दिइएको छ । केही अनुसन्धानको प्रक्रियमा छन् । सिनेटमा बोल्दै जमात-ए-इस्लामी पार्टीका मुश्ताक अहमदले संघीय र प्रान्तीय सरकार पत्रकारहरूको सुरक्षा गर्न असफल भएको बताएका छन् ।

मन्त्री अब्बासीले अहमदलाई जवाफ दिँदै यो ‘गम्भीर अवस्था’ हो र सरकारले अपराधीहरू विरुद्ध छिटो कारबाही गर्नुपर्छ र पत्रकारहरूलाई विशेष सुरक्षा प्रदान गर्नुपर्छ भनेका छन् ।

उनले पाकिस्तानको आन्तरिक र सूचना मन्त्रालयलाई यस विषयमा एकीकृत प्रतिवेदन तयार गरी दुई महिनाभित्र सदनमा पेश गर्न निर्देशन दिएका छन् । यसैबीच बलुचिस्तान अवामी पार्टीका सिनेटर दानेश कुमारले दस्तावेजमा देखाइएको तीनको सट्टा प्रान्तमा १० भन्दा बढी पत्रकारको हत्या भएको बताएको डन अखबारले उल्लेख गरेको छ जवाफमा संसदीय मामिलामन्त्रीले सम्बन्धित सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार पारेको र कसैले गलत तथ्याङ्क दिएको भए यो अत्यन्त संवेदनशील विषय भएकाले जवाफदेही हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पछिल्लो समय देशमा लैङ्गिक हिंसाका घटना बढेको र विशेषगरी महिलाहरू उत्पीडन र दुर्व्यवहारको चपेटामा परेका छन् । पाकिस्तानमा कडा पितृसत्तात्मक सामाजिक मान्यताका कारण महिला पत्रकारहरू हिंसा र धम्कीको अझ बढी जोखिममा छन् ।

प्रतिक्रिया