शुक्रबार, वैशाख ७, २०८१

आत्मदाह गरेका आचार्यको शव बुझ्न परिवारको १० बुँदे सर्त

नेपालखोज २०७९ माघ १३ गते १२:४६

काठमाण्डौं । मंगलबार संसद भवन अघि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारले सरकार समक्ष १० बुँदे माग राखेका छन् । माग पुरा नभएसम्म आचार्यको शव नबुझ्ने जनाएका छन् । परिवारले आत्मदाह अघि सामाजिक सञ्जालमा आचार्यले सुझाएका २५ बुँदा कार्यान्वयन देखि आर्थिक कृषि क्रान्तिका पहिलो शहिद घोषणासम्मको माग राखेका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गरि राखिएको मागमा आत्मदाह गर्न प्रेरित गर्नेलाई कानुनी कारबाही, किसान र कृषि उपजलाई विनाअवरोध नगदमै कारोबारको व्यवस्था, बैँक तथा वित्तिय संस्थाबाट प्रवाह हुने कर्जाको व्याजदर घटाउनुपर्ने र सरल कर्जाको व्यवस्था, स्वर्गीय आचार्यले लिएको कर्जा राज्यले मिनाहा गर्नुपर्ने विषय समाबेश छ ।

त्यस्तै, आचार्यका छोरीहरुलाई निशुल्क उच्च शिक्षा, कृषि अनुदानको निष्पक्षताको विषयमा अनुसन्धान गर्नुपर्ने, आर्थिक लेनदेन तथा उधारो बजार सम्बन्धी कानुन निर्माण र राज्यको नीतिका कारण कसैले पनि मृत्युवरण गर्नुपर्ने अवस्था नआउने माग सम्बोधन नभएसम्म मृतक आचार्यको शव नउठाउने परिवारले अडान राखेका छन् ।

आचार्यको शव टिचिङ अस्पतालमा राखिएको छ । सरकारले आचार्यले उठाएका विषयमा छानविन गर्न समिति समेत गठन गरिसकेको छ । त्यसअघि गृहमन्त्री रवि लामिछानेले परिवारलाई र स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले किर्तिपुर अस्पतालको आसियू वार्डमा पुगेर उपचाररत आचार्यलाई भेटेका थिए ।

प्रतिक्रिया