शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रपतिबारे एमालेसँगको सहमति उल्टाउने माओवादीको संकेत

नेपालखोज २०७९ माघ १३ गते १७:३१

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्दै यसअघि राष्ट्रपतिमा भएको भनिएको सहमति उल्टाउने संकेत दिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिँदै सबैसँग विकल्प खुल्ला छलफल गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न भन्नेबारे ठोस निर्णय भनेका थिए ।

स्थायी कमिटीका सदस्यहरुले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मुलभूत रुपमा धेरै कमरेडहरुको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताए । उनले राष्ट्रिय सहमति हुने नहुने बेग्लै कुरा भएपनि आफ्नो पार्टीको मत राष्ट्रिय सहमतिमै रहेको बताए । त्यसक्रममा अरु पार्टीसँग गर्ने पहल पनि बाँकी नै रहेको बताए ।

धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए । ‘हामीले अध्यक्षलाई सबै दल मिलाएर लैजाने पहल गर्न सुझाव दिएका छौं, त्यसै अनुसार आज पार्टीले निर्णय गरेको छ ‘ ती पदाधिकारीले भने, ‘राष्ट्रपतिमा सहमति खोजेरै अघि बढ्छौं ।’

यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको सूचना बाहिरिएको थियो । माओवादीले त्यस निर्णयबाट पछि हट्न खोजेको संकेत मिलेको छ । महराले राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र हुने बताए । बैठकमा पार्टी एकताबारे नेसपा र विप्लव नेतृत्वको नेकपासँग वार्ता चलिरहेको विषय उठेपनि ठोस निष्कर्ष भने निस्किएको छ ।

प्रतिक्रिया