शुक्रबार, चैत १६, २०८०

व्यवसायिक वातावरण बनाएर आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

नेपालखोज २०७९ माघ १३ गते १९:३०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधी सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो ।

व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समय देखि सिर्जित समस्याले उद्योगी र व्यवसायिक क्षेत्रमा गम्भिर असर गरेको छ । व्यवसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुखदः घटना हो, ।’

मुलुकमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने दिने प्रक्रीयालाई सेवामुखी बनाउनुपर्नुे चेम्बरले जनाएको छ । उच्च ब्याजदर नियन्त्रण एवं लगानी मुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटक पटक ध्यानकर्षण गराईएको चेम्बरले उल्लेख गरेको छ ।

मुलुकमा हुने उधारो कारोबारलाई निरुत्साहित गरि नगद कारोबारलाई प्रोत्साहन एवं डिजिटल प्रणालीमा लैजान अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरे । चेम्बरले ब्याजदरको स्थायीत्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंंक एवं बैंक वित्तिय संस्थालाई पुन: आग्रह गरेको छ । पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषि लगायतका क्षेत्रको उद्यमशिलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

प्रतिक्रिया