शुक्रबार, वैशाख ७, २०८१

बजारमा आउन थाले वि .सं . २०८० का पात्रो

नेपालखोज २०७९ माघ १७ गते १६:१२

काठमाडौँ । विसं २०८० को पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । ग्रह पद विभाजनअनुसार राजा बुध र मन्त्री शुक्र भएको विसं २०८० को पात्रो सार्वजनिक हुने क्रम सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आगामी साल पिङ्गल नामको संवत्सर रहेको छ । विसं २०८० का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको थियो । स्वीकृति दिएका पात्रो आजदेखि नै बजारमा आउन थालेका हुन् ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने भएको छ ।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रूपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ । जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ । गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । गत वर्ष स्वीकृति लिएर मात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो । स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेन । कारबाही गर्ने निर्देशिका नबनेकाले गत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।

समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनू भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरूले समितिसँग समन्वय गरेका छैनन् । यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ । जसअनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने भएको छ ।

अनुगमन समितिले आवश्यकताअनुसार उपसमिति समेत गठन गर्न सकिने जनाएको छ । निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ । समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ । गत वर्ष जस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानूनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया