शुक्रबार, वैशाख १४, २०८१

६३ सम्पदाको पुनः निर्माण सम्पन्न

नेपालखोज २०७९ माघ १८ गते १४:५५

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुन:निर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुन:निर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

हाल ११ सम्पदाको पुन:निर्माण भइरहेको छ । पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुन:निर्माण सुरु हुनसकेको छैन । स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुन:निर्माण हुन नसकेको हो । हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुन:निर्माण सम्पन्न भएको छ । विश्वरुप मन्दिर पुन:निर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ ।

विश्वरुप पुन:निर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो । जयवागेश्वरी मन्दिर हालै पुन:निर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया