बिहीबार, वैशाख १३, २०८१

सम्झनामा माघ १९

सुनिल उलक २०७९ माघ १९ गते १०:३१

जनवादी गणतन्त्र चीनको स्थापना गराउन प्रमुख भूमिका रहेका तथा झण्डै २७ वर्ष प्रमुख नेतृत्व गरेका माओको उत्तरार्धतिर उनले गरेका महत्त्वपूर्ण राजनीतिक निर्णयहरुमा अदृश्य शक्तिहरुको भूमिका देखिन थालेको थियो । उनलाई यस प्रकारको सल्लाह दिनेमा मुख्य रुपले उनका कान्छी श्रीमती चियाङ चिङ थिए । अन्यमा च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेन थिए । यी चार जनाको समुहलाई विश्व राजनीतिमा ग्या अफ फोर भनेर चिनिने गर्दछ ।

यसरी चिनियाँ राजनीतिमा उडाएको ग्याङ अफ फोरको शासन शक्ति चलाउने अदृश्य शक्तिको समूह अन्य मुलुकहरुमा पनि देखिन थालेको थियो । विश्व राजनीतिको घटनाक्रमलाई गहिरिएर अध्ययन गर्यौ भने सत्तामा हानथाप गर्न र गलत निर्णयका सल्लाहहरु दिन यस प्रकारका अदृश्य शक्ति लागेको भेट्दछौ । नेपालको राजनीतिक इतिहासमा पनि राजा त्रिभुवनको भारत पलायनमा भनौ वा राजा महेन्द्रका कतिपय कदममा पनि अदृश्य शक्तिको भूमिका रहेको पाउँछौ । यस प्रकारको अदृश्य शक्तिका सल्लाहहरु कहिलेकाहीँ महत्वपूर्ण भइदिन्छन् भने कहिलेकाहीँ यसले आफूसँग रहेको अधिकार सदाका लागि गुम्ने पनि हुन्छ ।

नेपालको राजनीतिमा १८ वर्ष अगाडि २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले चालेको कदम भने २५० वर्ष भन्दा लामो शाही राजसत्ता अन्त्यको कारक बन्यो । राजा ज्ञानेन्द्रलाई सल्लाह दिने शरदचन्द्र शाह, प्रभुशम्शेर जबरा, भरत केशरी सिंह तथा रमेशनाथ पाण्डे नेपाली राजनीतिका ग्याङ अफ फोर हुन ।

शरदचन्द्र शाह सबैभन्दा प्रमुख थिए । ज्ञानेन्द्रले सार्वजनिक रुपमा के बोल्ने के नबोल्ने तथा राजाका भाषणको अन्तिम रुप समेत शरदचन्द्रको सल्लाहमा हुन्थ्यो । राजा सधै कठोर हुनैपर्दछ भन्ने सल्लाह शरदचन्द्र कै हुने गर्दथ्यो । राजा ज्ञानेन्द्रका व्यापारिक साझेदार समेत रहेका प्रभाकर शम्शेरसंग केही कारणले सम्बन्ध बिग्रिए पछि ज्ञानेन्द्र आफ्ना बालसखा प्रभुशम्शेरलाई नजिक ल्याएका थिए । ज्ञानेन्द्रको हरेक भ्रमणमा प्रभुशम्शेर पनि साथमा हुन्थे ।

विश्व हिन्दू महासंघका अध्यक्ष समेत रहेका भरत केशरी सिंह बढी हिन्दूधर्मका हिमायती रहेको हुँदा माओवादी प्रति कठोर कदम चाल्न सल्लाह दिने गर्दथे । साथै एक मात्रै हिन्दू राज्यको राजा भएको हुँदा राजाले बढी अधिकार बोक्नु पर्ने सल्लाह दिन्थे ।

पत्रकारिताबाट राजनीतिमा छिरेका रमेशनाथ पाण्डे राजनीतिक व्यक्तित्व भन्दा कुटनैतिक व्यक्तित्वका हुनुहुन्छ । विभिन्न दलीय नेताहरुसंग समन्वय गर्न सक्ने भन्ने आधारमा राजा ज्ञानेन्द्रले निकट ल्याएका थिए । यि चार ब्यक्ति भन्दा पछाडि राजालाई सल्लाह दिनेमा पशुपति भक्त महर्जन पनि पर्दछन् ।

तर तुल्सी गिरीको चयन किन भयो भन्ने कुरा भने अन्योल नै छ । मलाई सबैभन्दा मन नपरेको चयन उनकै थियो । उनको चयन हुनु २०१७ सालको पुनरावृत्ति गर्न खोजिएको आभास हुन्थ्यो । सञ्चारका सम्पूर्ण श्रोत नै बन्द गर्नु पनि सहि लागेको थिएन मलाई । कठोर कदम चाले पछि राम्राहरुको साथ लिनुपर्थ्यो र छिट्टै हतास हुनु हुदैनथ्यो । तर एउटा मुख्य कुरा माघ १९ ले नै राजतन्त्रलाई अन्त्यको संघारमा पुर्याएको भने पक्कै हो ।

यदि माघ १९ को निर्णय राजा ज्ञानेन्द्रले केवल आसेपासेको सल्लाहमा नलिएको भए, सायद राजतन्त्र केही समय बढी टिक्न सक्थ्यो होला भन्ने अनुमान गर्न सक्छौ ।

प्रतिक्रिया