सोमबार, वैशाख १०, २०८१

छाउगोठ भत्कियाे तर मनको डर भत्किएन

जितेन्द्र थापा २०७९ माघ २२ गते ११:३१

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–२ कि सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको यो छैटौँ पटक हो । अहिले पनि महिनावारी भएका बेला छाउगोठमै बस्छिन् । विक भन्छिन् – ‘महिनावारीको समय नजिक आउँदा शरिरमा काडा उम्रेर आउँछ । छाउगोठमा बसौँ त सर्पको डर, घरमा बसौँ त देवताको डर केही गरे पनि सुख छैन’ ।

बिहान पाँच बजेकै हुँदैन कठ्याङ्ग्रीदो जाडोमा घाँस काट्न वनतिर हिड्ने उनको दिनचर्या नै बनेको छ । घाँसको ठुलो डोको बोकेर घर फर्किदै उनको दैनिकी बित्छ । अरु समय भन्दा महिनावारी भएका बेला निकै पीडा कष्ट हुने गरेको विक बताउँछिन्। अरुबेला हामी नारीहरुलाई केही पीडा हुँदैन, उनी भन्छिन्– ‘महिनावारीका बेला खपिनसक्नु पीडा हुन्छ । सुख्खा सेतो नुनसँग खाना खानुपर्छ, एक्सरो कपडा ओछ्याएर चिसो ठाउँमा सुत्नुपर्छ ।’

परम्परागत सोचमा परिवर्तन आउन नसक्दा छाउगोठ बस्ने महिलाहरु अहिलेपनि एकसरो लुगा ओछ्याएर सेतो नुनसँग खाना दिइने चलन कायमै छ ।

त्यस्तै दैलेखकै आठविस नगरपालिका वडा नं. ५ कि परिर्वतित नाम अमला बडुवाल पहिलोपटक महिनावारी हुँदा लुक्नसमेत जंगल पस्थिन् । गाउँघरमा पहिलो पटक रजस्वला भए लुक्नेजाने चलन अनुसार पहिलो पटक रजस्वला हुँदा लुक्न गएको अमलाको भनाई छ । सरकारले छाउलाई बार्न हुन्न, छाउ गोठमा बस्न हुन्न भनेर भत्कायो उनी भन्छिन् – ‘गोठ भत्काएर मात्र के गर्नु ? मनको डर भत्काउन कसैले नसक्ने ? त्यसैले पनि छाउ गोठमै बस्नुपर्ने बाध्यता छ ।’

पहिलो पटक रजस्वला हुँदा त झनै समस्या हुन्छ, रजस्वला हुँदा नलुकेमा दाइभाइको नजर परे राम्रो हुँदैन भनेर पाँच दिनसम्म लुक्ने पर्ने अन्धविश्वास अझै पनि कायम रहेको ठाटीकाँधकी सरुपा बताउँछिन् । पहिलोपटक महिनावारी हुँदा घरमा बस्नुहुँदैन, जंगलतिर लुक्न जानुपर्छ, कसैको पनि नजरमा पर्नु हुँदैन, पाँच दिन भएपछि घरमा आउने चलन रहेको विकको भनाइ छ ।

महिनावारी हुँदा शारिरिक रुपमा निकै कमजोर भइन्छ । यस्तो बेलामा धेरै पोसिलो खानेकुराहरु खानुपर्ने हुन्छ । तर आफु भने एक छाक खाना खानलाई पनि कतिबेला दिन्छन् र खाउँला भनेर कुर्नुपरेको उनी बताउँछिन् । छैटौँ पटक महिनावारी हुँदा भने उनी अर्काको घरमा लुक्न जानु परेन । तीन दिनसम्म घरकै कुनामा केही नछोइ बस्नुपर्ने बाध्यता भने उनले यसपटक पनि भोग्नुपर्यो ।

दैलेखको आठविस नगरपालिका २ कि भावना उपाध्यायको पनि उस्तै अनुभव छ । पहिलो पटक महिनावारी हुदाँ पुरुषलाई अनुहार देखाउन नहुने भन्दै सात दिनसम्म आफन्तको घरमा लुक्न जान बाध्य भइन् । महिनावारीबारेको अन्धविश्वास सुनाउँदै उपाध्याय भन्छिन् – ‘झुक्केर पनि आकाशतिर सूर्यलाई हेर्न पनि नहुने रे । यी सब कुराहरूले म महिनावारी भएको होइन, केही अपराध गरेर सजाय काटेको जस्तो अनुभव भएको भन्दै उनले पीडा पोखिन् ।

सरुपा र भावना एक प्रतिनिधि पात्र मात्रै हुन । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा अदृश्य रूपमा छाउप्रथाले निरन्तरता पाइरहेको छ ।

छाउगोठहरु भत्काइए पनि पुनः अस्थाइ छाउगोठमा : गतवर्षको पुष महिनाबाट सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थाल्यो । उक्त अभियानबाट करिब ९ हजार २ सय १० वटा छाउगोठहरू भत्काइयो । छाउगोठहरु भत्काइए पनि महिनावारी भएका महिलाहरु पुनः छाउगोठमै बस्न थालेका छन् । रजस्वला हुँदा छाउगोठमा बस्नेलाई कारबाही गरिने भनेर कानुनमा प्रस्ट उल्लेख भएपनि कार्यान्वयन भने हुन सकेको छैन । पहिले भत्काइएका छाउगोठ पनि धमाधम ठडिन थालेका छन् ।

महिनावारी भएका बेला बस्न बनाइएका छाउगोठमा बसेर महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो । स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिएपनि महिलाहरु फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन् ।

सरकारले छाउगोठ भत्काए पनि घरभित्र बस्न मनले मान्दैन डर लाग्छ दैलेख आठविस नगरपालिकाकि एक महिलाले भनिन्, घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै सासु ससुराले बस्नै दिदैनन् । त्यसैले महिनावारी हुँदा पाँच दिन बाध्य भएर छाउगोठमै नबसि नहुने भन्दै उनले गुनासो गरिन् ।’

सरकारले छाउगोठ भत्काएपछि झनै ठूलो समस्या उत्पन्न भएको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ कि दुरपता सुनार बताउँछिन् । छाउगोठ भत्काएपनि खुला रुपमै त्रिपालमा बस्ने गरेका छन् । जसले चिसो लगायतको विभिन्न समस्या निम्त्याउने गरेको छ । छाउपडी विभेद अन्त्य गर्न आम नागरिकको मानसिकतामा परिवर्तन गर्नुपर्ने सुनारको तर्क छ ।

तुलनात्मक रुपमा पहिलेको भन्दा छाउपडी र छाउगोठमा बस्नेको संख्यामा कम हुँदै गएको आठविस नगरपालिका पूर्व उपप्रमुख दीपा बोहोराले बताइन् । बोहोराका अनुसार– ‘छाउगोठ भत्काउने नै भए पहिले मनको डर भत्काउनुपर्छ, मनको डर भत्काएपछि छाउपडी प्रथा आफै भत्किन्छ ।

दण्डनीय कानुनले रोक्न नसकेको छाउपडी प्रथा

मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रका कतिपय ठाउँमा रजस्वलाको समयमा बस्ने छाउगोठ गृहमन्त्रालयको आदेशमा भत्काइयो । छाउगोठ भत्काए पनि छाउ बार्ने र छाउगोठमा बस्ने कार्य कायमै छ । सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो । त्यसपछि छाउगोठ भतकाउने अभियान पनि थालियो। नत छाउगोठ भत्किए नत छाउपडीसँग जोडिएको अन्धविश्वास ।

राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांक अनुसार २०६२ साल यता १५ जनाले छाउ गोठमा बसेकै कारण ज्यान गुमाइसकेका छन् । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ । कानुनमा उल्लेख गरिए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

महिनावारी हुने कुरालाई सामान्य रूपमा लिएर छाउप्रथालाई महिला आफैँले छोड्न सकिरहेका छैनन् । छाउगोठको अन्त्य गर्न विभिन्न समयमा विकट गाउँमा रहेको छाउगोठ भत्काउने अभियान वर्षेनी सञ्चालन हुन्छ तर शहरमै रहेको यस्ता छाउकोठा भत्किन सकेका छैनन् । प्रत्येक पटक महिनावारी हुँदा पाँच दिनसम्म घरमा छुट्टै बस्नुपर्ने बाध्यता थियो भने अहिले गाउँघरमा दुइदिन थपेर सातदिनसम्म छाउगोठमा बस्नुपर्ने बाध्यता छ । जसका प्रमुख कारण यौनहिंसा र सर्पदंश अर्थात सर्पले टोक्ने समस्या रहेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया