मंगलबार, वैशाख ४, २०८१

राष्ट्र बैंकले गर्‍याे सात अर्बको विकास ऋणपत्र बिक्रीकाे आह्वान

नेपालखोज २०७९ माघ २३ गते १३:२९

काठमाडाैं । नेपाल राष्ट्र बैकले सात अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार माघ २४ गते मंगलबार पाँँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘ञ’ (५ वर्षे) बिक्री गर्न लागिएको हो । ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०७९ माघ २५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ माघ २५ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

यि बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्प्रतिकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडिदुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

प्रतिक्रिया