शुक्रबार, वैशाख १४, २०८१

सम्झना प्रिन्सेस एलिजाबेथको

सुनिल उलक २०७९ माघ २३ गते १७:००

आज फेब्रुअरी ६, आजको ७१ वर्ष अगाडि सन् १९५२ मा प्रिन्सेस एलिजाबेथ अलेक्जान्द्रा मेरी बेलायती साम्राज्यको महारानी भएकी थिइन् । रानीको रूपमा उनको नाम एलिजाबेथ द्वितीय हुन पुग्यो । वास्तवमा एलिजाबेथले संयोगले महारानी बन्ने सौभाग्य पाएकी थिइन् ।

बाजे तथा बेलायती राजा जर्ज पाँचौँको देहावसानपछि जेठो छोरा, एलिजाबेथको ठुलो बुबा, एडवर्ड आठौँले राजगद्दीमा बसे । राजा बनेका एडवर्ड आठौँलाई पति त्यागेर बसेका अमेरिकी महिला वालिस सिम्पसनसंगको सम्बन्धका कारण पारिवारिक दबाबमा १४ महिनामा नै राजाको गद्दी त्याग्न बाध्य बनाईयो । जसले गर्दा उनको माइलो भाइ जर्ज छैटौँ राजा बनेका थिए । 

सन १९५२ को फेब्रुअरी ६ मा राजा जर्ज छैटौँको देहावसान भएपछि जर्ज छैटौँको दुई छोरी मात्र भएको हुँदा जेठी छोरी प्रिन्सेस एलिजाबेथले महारानी बन्ने अवसर पाएकी थिइन् । कमन वेल्थ राष्ट्रको व्यक्तिगत भ्रमणको क्रममा केन्याको एबरडेयर नेशनल पार्कको ट्रिटप होटलमा पति प्रिन्स फिलिपसंग छुट्टी मनाइरहेको समयमा अचानक राजा जर्ज छैटौँको देहावसानको दुखद खबर र बेलायती साम्राज्यको महारानी बनेको सुखद समाचार एक साथ दिइएको थियो । एलिजाबेथले बिताएको जमिन देखि चालिस फिट माथि बनाइएको त्यो कोठा त्यसपछि एलिजाबेथको सम्झनामा स्मारकका रूपमा राखिएको छ ।

गत वर्ष सेप्टेम्बर ८ मा देहावसान भएकी महारानी एलिजाबेथ सबैभन्दा लामो समय राजगद्दी आसीन हुनेमा गर्छिन् । झन्डै ७१ वर्ष (७० वर्ष ७ महिना २ दिन) बेलायती महारानीका रूपमा राजगद्दीमा रहेकी थिइन् ।

प्रतिक्रिया