बुधबार, वैशाख १२, २०८१

रेट्यिान्समा सुधार : छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब रुपैयाँ

नेपालखोज २०७९ माघ २३ गते १९:५६

काठमाडौं । मुलुकले बैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात रेमिट्यान्स रकममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकको सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो छ महिनाको प्रतिवेदन अनुसार विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह २४ दशमलव तीन प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौं प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि चालु आवको पछिल्लो अवधिमा नौं दशमलव पाँच प्रतिशतले बढेर एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो ।

चालु आवको पछिल्लो अवधिमा खुद ट्रान्सफर २२ दशमलव सात प्रतिशतले वृद्धि भई छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया