मंगलबार, वैशाख ११, २०८१

प्रचण्ड र ओलीबीच के भयो छलफल ?

नेपालखोज २०७९ माघ २४ गते १५:४५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ ।

भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

सो क्रममा एमाले अध्यक्ष ओलीले भावी राष्ट्रपतिका लागि एमालेले उठाउने उम्मेदवारमा सहमति कायम गराउन भूमिका खेल्न आग्रह गरेका थिए । एमालेकै मुख्य समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको स्मरण गराउँदै ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सफल बनाउन भूमिका खेल्न दबाब दिएका थिए ।

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ । त्यसअघि नै २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर माओवादी केन्द्रका नेताहरुले भने राष्ट्रिय जुट्ने पात्रलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिन छाडेका छैनन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन प्रधानमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् । कांगेस सरकारमा सहभागी नभएपनि उसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको छ ।पछिल्लो समयमा राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्री दुवै पक्षको चेपुवामा पर्दै आएका छन् ।

प्रतिक्रिया