बुधबार, वैशाख १२, २०८१

वनजङ्गल मासिँदा पानीका मुहान सुक्दै

नेपालखोज २०७९ माघ २५ गते १०:२१

काठमाडौं । दार्चुलाको अधिकांस ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो ।

तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ । शैल्यशिखर नगरपालिका–६ का गोविन्दसिंह धामीले पानीका मुहान सुक्दै गएको बताए ।

‘यही वर्ष पहिले ठाउँ ठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन’, उनले भने । वनजङ्गल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको मालिकार्जुन गाउँपालिका–३ का सोविर धामीको भनाइ छ । ग्रामीण क्षेत्रका पानीका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएका स्थानीय अकवर टमटा बताउछन् । मुहान सुक्दै गएपछि यहाँका खोलानालामा समेत पानीको मात्रा घट्दै गएको छ । जिल्लामा लामो समयसम्म हिउँदे वर्षा नहुँदा अन्नबाली सुक्न थालेको छ ।

समयमै हिउँदे वर्षा नहुँदा पनि खानेपानीका मुहानमा पानीको मात्रा कम हुँदै गएको छ । लेकम गाउँपालिका-४ का वडाध्यक्ष महेन्द्र जोशी अव्यवस्थित सडक निर्माणका कारण माथिल्लो भूभागमा भएका पानीका मुहान तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको बताउछन् । मुहान सुक्न थालेपछि पानी ल्याउन डेढघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको शैल्यशिखर-५ का विशनसिंह डाँगाले बताए ।

प्रतिक्रिया